देशभर खुल्दै सुपथ मूल्य पसल: दशैंअघि नागरिकलाई राहत, खाद्यवस्तुमा छुटको सुविधा

३० भाद्र २०८२, सोमबार १८:१३

काठमाडौं । सरकारले चाडपर्वको अवसरमा नागरिकलाई राहत प्रदान गर्न सोमबारदेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा यी पसल सञ्चालनमा ल्याएका हुन्।

अघिल्ला वर्षमा यस्ता पसलहरूको शुभारम्भ तामझामका साथ हुने गरेका थिए, तर यस वर्ष औपचारिक कार्यक्रम बिना नै पसल सञ्चालनमा आएको छ। नागरिकहरूले पसलबाट ५–१० रुपैयाँसम्म छुट पाउनेछन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशिक प्रमुख धर्मकुमारी राजवंशीका अनुसार चामल, गहुँ, दाल, केराउमा प्रतिकेजी ५ रुपैयाँ छुट, चिनीमा ५ रुपैयाँ, चिउरा, आटा, पिठो, मैदा, चियापत्ती, जिरा, धनियाँ मसलामा ७ रुपैयाँ, तेलमा प्रतिलिटर ७ रुपैयाँ, सिमी, फापर, मार्सी, बासमती चामलमा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले पनि सुपथ मूल्य पसलमार्फत विभिन्न सामग्रीमा छुट दिएको छ। सहुलियतमा आयो नुन २४ रुपैयाँमा, दुई केजीको चिनी १९० रुपैयाँमा विक्री गरिएको छ। भान्साघर चामल, एसटीसी सोना मनसुली चामललगायतमा पनि छुट दिएको कर्पोरेसनले जनाएको छ।

साल्ट ट्रेडिङका अनुसार, यस वर्ष देशभर तीन दर्जन स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ। काठमाडौं उपत्यकामा कालीमाटी, सतुङ्गल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काँडाघारी, इमाडोल र महाराजगञ्जमा पसलहरू खुलेका छन्। उपत्यकाबाहिर झापाको विर्तामोड, मोरङको विराटनगर, सप्तरीको राजविराज, सिरहाको लहान, धनुषाको जनकपुर र पर्साको वीरगञ्जमा पनि पसल सञ्चालनमा आएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*