साउनमा नेप्से सूचकाङ्क २७८८.३७ मा: बजार पुँजीकरण ४६ खर्ब ५६ अर्बमा

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचकाङ्क र बजार पुँजीकरणमा केही गिरावट आएको छ। २०८१ साउन मसान्तमा ३०००.८१ रहेको नेप्से सूचकाङ्क २०८२ साउन मसान्तमा २७८८.३७ कायम भएको छ।
धितोपत्र बजारको कुल पुँजीकरण ४६ खर्ब ५६ अर्ब २७ करोड रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४७ खर्ब ६५ अर्ब ९१ करोडको तुलनामा केही घटेको हो। कुल बजार पुँजीकरणको हिस्सा गार्हस्थ्य उत्पादनमा घटेर ७६.२४ प्रतिशत पुगेको छ, अघिल्लो वर्षको ८३.४८ प्रतिशतको तुलनामा कमी आएको देखिन्छ।
साउन मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७४ पुगेको छ। यीमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९२ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका कम्पनी रहेका छन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको बजार पुँजीकरणमा हिस्सा ५२.६ प्रतिशत छ। जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनी ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योग ५.६ प्रतिशत, व्यापारिक संस्था ५.० प्रतिशत, होटल २.७ प्रतिशत र अन्य समूहका कम्पनी ११.१ प्रतिशत रहेको छ।
साउन मसान्तमा नेप्सेमा कुल ८ अर्ब ८८ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ७५ अर्ब ३३ करोड रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा नयाँ रूपमा ८ अर्ब २४ करोड बराबरका धितोपत्र सूचीकृत भएका छन्, जसमा ७ अर्ब ५० करोड बराबरको साधारण सेयर, रु. ७१ करोड ८५ लाख बराबरको बोनस सेयर र रु. २ करोड २५ लाख बराबरको हकप्रद सेयर समावेश छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल १० अर्ब ३३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। यसमा ६ अर्ब ८ करोड म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड हकप्रद सेयर र ४७ करोड १५ लाख साधारण सेयर रहेका छन्।













