बीमा रकम हिनामिनामा कोशी अस्पतालका तीन कर्मचारी बर्खास्त, बिरामीकै उजुरीपछि पर्दाफाश

३१ भाद्र २०८२, मंगलवार ११:१५

काठमाडौँ । कोशी अस्पतालको औषधि पसल (फार्मेसी) मा कार्यरत तीन जना कर्मचारीलाई स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको प्रमाणित भएपछि सेवाबाट बर्खास्त गरिएको छ । करार सेवामा कार्यरत दुई जना फार्मेसी सहायक र एक जना कार्यालय सहयोगीलाई अनियमिततामा संलग्न रहेको पुष्टि भएपछि अस्पताल प्रशासनले सेवाबाट हटाएको हो ।

अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार उनीहरूले बिरामीलाई चाहिनेभन्दा कम औषधि आपूर्ति गर्ने तर बढी रकम कट्टा गर्ने, चिकित्सकले नसुझाएका महँगा औषधि देखाएर बीमाबाट भुक्तानी गर्ने र बिरामीकै नाममा अत्यधिक मात्रामा औषधि देखाउने काम गर्दै आएका थिए । कर्मचारीको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

अस्पतालका सूचना अधिकारी गजेन्द्र प्रसाद यादवले अस्थायी कर्मचारीलाई तत्कालका लागि सेवाबाट हटाइएको पृष्टि गरे । उनले भने, ‘बीमाको रकम दुरुपयोग गरेको भनेर कुरा आइसकेपछि प्रशासनले नै तीन जनालाई सेवाबाट हटाएको हो । उनीहरु अस्थायी कर्मचारी हुन् । सेवा नविकरण गर्ने समय आइरहेको थियो अब नविकरण नगर्ने गरी कारबाही गरेको हो ।’

यो विषय एक क्यान्सरपीडित बिरामीले दिएको उजुरीपछि बाहिर आएको हो । आकस्मिक कक्षमा उपचाररत रहँदा चिकित्सकले सात दिनका लागि मात्र औषधि लेखिदिएको अवस्थामा बीमा खाताबाट एक महिनासम्म पुग्ने रकम काटिएको थाहा पाएपछि ती बिरामीले औपचारिक उजुरी दिएका थिए । लिखित उजुरीपछि अस्पतालले छानबिन समिति गठन गरी पुराना बिलहरूसमेत परीक्षण गर्दा अनियमितता भएको पुष्टि भएको हो। पहिले पनि यस्ता गुनासो मौखिक रूपमा आएका थिए तर यसपटक उजुरी लिखित रूपमै आएकाले छानबिन गर्दा ठोस प्रमाण भेटिएको हो ।

छानबिन समितिको प्रतिवेदनले ती कर्मचारीहरू प्रत्यक्ष रूपमा संलग्न रहेको उल्लेख गरेपछि अस्पतालले तत्कालै सेवाबाट बर्खास्त गरेको हो । प्रशासनले यसलाई गम्भीर अनियमितता मानेर कडाइका साथ कदम चालेको जनाएको छ ।

कोशी अस्पतालमा दैनिक करिब एक हजार बिरामी आउने गर्छन्, जसमा आधाभन्दा बढी स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार गर्ने गरेका छन् । बीमित बिरामीमध्ये धेरैजसो दीर्घरोगका बिरामी हुने गरेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा मात्र अस्पतालमा उपचार सेवा लिन आएका तीन लाख १७ हजार ७१८ मध्ये एक लाख २३ हजार ९८३ जना बिरामीले बीमा सुविधामार्फत उपचार गराएका थिए ।

यीमध्ये उच्च रक्तचाप, दम, मधुमेह, ग्यास्ट्राइटिस, तल्लो पेट दुखाइ लगायतका रोगले पीडित बिरामीको संख्या बढी रहेको छ ।त्यसैगरी हाडजोर्नी, स्त्री तथा प्रसूति, नाक कान घाँटी, स्नायु रोग, छाला र अन्य विभागहरूमा पनि बीमित बिरामीको चाप बढ्दो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*