युनिटी लाइफ ठगीका पीडितलाई रकम फिर्ताका लागि दाबी पेस गर्न अन्तिम पटक सूचना जारी

३१ भाद्र २०८२, मंगलवार १२:१६

काठमाडौँ । ललितपुर जिल्ला अदालतले युनिटी लाइफ इन्टरनेसनलमा ठगिएकाहरूलाई आफ्नो दाबी पेस गरी रकम फिर्ता लिन अन्तिम मौका दिएको छ। अदालतले तेस्रो पटक सूचना जारी गर्दै एक महिनाभित्र रकम फिर्ताका लागि निवेदन दिन भनेको हो।

अदालतको तहसिल शाखामा वा देशका अन्य जिल्ला अदालतको तहसिल शाखामा रकम जम्मा गरेको प्रमाणसहित दाबी पेश गर्न सकिने सूचनामा उल्लेख छ। सूचना जारी गरेपछि पनि निर्धारित समयभित्र दाबी नपरेको खण्डमा फैसला कार्यान्वयन सम्बन्धी व्यवस्था अनुसार उक्त रकम सरकारकै हुने उल्लेख गरिएको छ। यसअघि पहिलो पटक भदौ १७ गते र दोस्रो पटक पनि सूचना प्रकाशित भइसकेको थियो। सर्वोच्च अदालतको २०८२ वैशाख २ गतेको फैसलाअनुसार युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका नाममा रकम जम्मा गर्ने सबै सरोकारवालाले दाबी पेश गर्नुपर्ने आदेश दिइएको थियो।

सर्वोच्च अदालतको फैसलापछि पीडितहरूले रकम फिर्ता पाउने प्रक्रिया अघि बढेको हो। युनिटी लाइफले आकर्षक प्रतिफलको आश्वासन देखाएर वृद्ध, गृहिणी र साना व्यवसायीहरूलाई लक्षित गर्दै ठूलो रकम उठाएको थियो। कम्पनीले सुरुमा केही समय प्रतिफल दिएको जस्तो देखाए पनि यो पैसाहरू अन्य सदस्यबाट उठाइएको रकमबाटै दिएको थियो। पछि प्रतिफल रोकियो र रकम फिर्ता गर्न छाडियो।

यो ठगीमा ३ लाख ६८ हजारभन्दा बढी व्यक्तिहरू पीडित भएका थिए। पीडितहरूले आफ्नो जीवनभरको कमाई, पेन्सनको रकम वा ऋण लिएर समेत रकम लगानी गरेका थिए। दाबी पेश गर्दा नागरिकता, रकम जम्मा गरेको रसिद वा अन्य प्रमाणहरू पेश गर्नुपर्नेछ। प्रहरी प्रतिवेदनमा उल्लेख भएका विवरणहरू समेत प्रमाणको रूपमा प्रयोग गर्न सकिने सूचनामा भनिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*