कोहलपुर राजस्व कार्यालयबाट लुटिएको नगद, सुन र चाँदी फिर्ता
३१ भाद्र २०८२, मंगलवार १४:०९

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा आगजनीपछिको लुटपाटमा हराएको दुई लाख ५२ हजार नगद, ४२१ ग्राम सुन र नौ किलो चाँदी फिर्ता भएको छ। कोहलपुरका जनप्रतिनिधि र समाजसेवीको पहलसँगै प्रहरीको सक्रियतामा उक्त रकम र बहुमूल्य धातु पीडित परिवारलाई फिर्ता गरिएको हो।
लुटिएको रकममध्ये एक लाख १७ हजार र ८४ हजार भारतीय रुपैयाँ इप्रका कोहलपुरमा फिर्ता भएका थिए। कोहलपुरमा ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा जिल्लाका धेरै सरकारी कार्यालयमा आगजनी र लुटपाटको घटना भएका थिए।
यस्तै, आइतबार कोहलपुर–२ बाट सात लाख ६६ हजार रुपैयाँसहित कोहलपुर–५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका–१८ का २६ वर्षीय ऋषिकेश मिश्रलाई प्रहरीले पक्राउ गरेको छ।













