राष्ट्र बैंकको नयाँ परिपत्र: चिनियाँ आयातका लागि मुस्ताङ्ग भन्सार समेत खुल्यो, व्यापारमा सहजता

काठमाडौं। अब बैंक तथा वित्तीय संस्थाहरूले चिनियाँ भूभागबाट आयात हुने वस्तुका लागि मुस्ताङ भन्सार कार्यालयमार्फत पनि प्रतितपत्र (एलसी) खोल्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०८१ संसोधन गर्दै यस्तो सुविधा प्रदान गरेको हो। यस अनुसार, एलसी पहिले नै खोलिसकेको भए पनि मुस्ताङ भन्सारबाट जाँचपास गर्न सकिने व्यवस्था गरिएको छ।
यसअघि चिनियाँ भूभागबाट आउने वस्तु तातोपानी भन्सार, सिन्धुपाल्चोक र रसुवा भन्सार, रसुवा मार्फत मात्र जाँचपास गर्न सकिँदा एलसी खोल्न मिल्ने व्यवस्था थियो। नयाँ परिपत्रअनुसार, मुस्ताङ भन्सारलाई पनि यस सुविधामा समावेश गरिएको छ। परिपत्रमा भनिएको छ, “चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतीतपत्रमार्फत आयात गर्दा निम्न भन्सार नाकाबाट सामान आयात गर्नु पर्नेछ: क. तातोपानी भन्सार (सिन्धुपाल्चोक), ख. रसुवा भन्सार (रसुवा), र ग. मुस्ताङ्ग भन्सार (मुस्ताङ)।”
गत असार २३ गते रसुवामा आएको बाढीले रसुवा भन्सार कार्यालय क्षतिग्रस्त भएको थियो। सो भन्सार चीनतर्फको व्यापारमा बढी प्रयोग हुने भएकाले यसबाट व्यापारमा अवरोध आएको थियो। सडक समेत प्रभावित भएका कारण चीनतर्फको आयात र निर्यातमा समस्या देखिएको थियो।
नेपाल राष्ट्र बैंकले चीनतर्फको व्यापारलाई सहज बनाउने उद्देश्यसहित मुस्ताङ भन्सारबाट जाँचपास गरी आयात हुने वस्तुमा एलसी खोल्न सकिने सुविधा प्रदान गरेको हो। यसले व्यापारमा निरन्तरता कायम राख्ने र प्रभावित भन्सारको विकल्प दिने लक्ष्य राखेको छ।














