दशैं नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ । विजयादशमी र तिहार नजिकिँदै गर्दा राजधानीको गोँगबुस्थित नयाँ बसपार्क यात्रुको भीडले भरिन थालेको छ। पर्व मनाउन गृहजिल्ला फर्किने यात्रुहरू दिनहुँ बढ्दै जाँदा बसपार्कमा चहलपहल तीव्र भएको छ।
हालै त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गतका क्याम्पसहरू दुई दिनका लागि बन्द हुँदा विद्यार्थीहरू पनि आफ्नो गाउँ फर्किन थालेपछि यात्रुको संख्या अझै बढेको हो।
लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लका अनुसार सामान्य दिनमा चारदेखि पाँच हजार यात्रु बसपार्कबाट बाहिरिने गरे पनि हाल दैनिक १२ देखि १५ हजारसम्म पुगिसकेको छ। उनका अनुसार ‘जेनजी’ आन्दोलनका कारण केही दिन अवरुद्ध भएको यातायात सेवा पुनः सञ्चालनमा आएपछि हालसम्म करिब ६५ हजार भन्दा बढी यात्रु उपत्यका छाडिसकेका छन्।
यसपटक दशैंलाई लक्षित गरी अग्रिम टिकट बिक्री नगर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागको मंगलबार बसेको बैठकले अग्रिम टिकट प्रणाली लागू नगर्ने निर्णय गरेको हो।













