अर्थ मन्त्रालयको राहत: जेने–जी आन्दोलनले प्रभावित करदातालाई नयाँ समयावधि

१ आश्विन २०८२, बुधबार १५:०२

काठमाडौं । जेन–जी आन्दोलनका कारण व्यवसायिक गतिविधि अवरुद्ध भएका करदातालाई सरकारले ठूलो राहत दिएको छ। अर्थमन्त्रीस्तरीय निर्णयअनुसार अब कर विवरण पेस गर्ने र कर रकम तिर्ने समय असोज २५ गतेसम्म बढाइएको छ।

गत भदौ २३ र २४ गते भएको देशव्यापी आन्दोलनका क्रममा कफ्र्यू र निषेधाज्ञा लागू हुँदा कर कार्यालयहरू बन्द भएका थिए। त्यसैले करदाताले नियमित रूपमा विवरण पेस गर्न नसकेको भन्दै सरकारले समयावधि थप गर्ने निर्णय गरेको हो।

अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार, साउन महिनामा पेस गर्नुपर्ने मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम कर कट्टी, शिक्षा सेवा शुल्क र विलासिता शुल्क अब असोज २५ गतेसम्म दाखिला गर्न सकिने छ। यसअघि यी विवरण भदौ २५ गतेभित्र बुझाउनुपर्ने व्यवस्था थियो।

मूल्य अभिवृद्धि कर ऐन, अन्तःशुल्क ऐन तथा आर्थिक ऐनअनुसार बुझाउनुपर्ने सबै कर तथा शुल्कको विवरण र भुक्तानी रकमलाई असोज २५ सम्म पेस गरेमा कुनै पनि विलम्ब शुल्क, अतिरिक्त दस्तुर वा जरिवाना लाग्ने छैन। यसका लागि आन्तरिक राजस्व विभागले एकीकृत कर प्रणालीमा आवश्यक प्रवन्ध मिलाउने निर्णय भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*