आजदेखि खुल्दै पुँजी बजारः राताम्यको त्रासमा लगानीकर्ता, कस्तो होला दशैंअघिको यात्रा ?

काठमाडौँ । एक साताभन्दा बढी बन्द रहेको पुँजी बजार आज अर्थात असोज २ गतेदेखि फेरि सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनको कारण गत भदौ २४ गतेदेखि रोकिएको बजारलाई फेरि खोल्ने तयारी भएको हो ।
तर, बजार खुल्दैमा लगानीकर्तामा खुशी छाएको छैन । बरु उनीहरू राताम्यको त्रासले ग्रस्त भएका छन् । राजनीतिक अस्थिरता, आन्दोलनको प्रतिफलस्वरूप कम्पनीहरूमा परेको भौतिक क्षति र दशैं नजिकिँदै गर्दा बेच्ने दबाब तीव्र हुन सक्ने अनुमानले बजार राताम्य हुने अपेक्षा उच्च बनेको छ ।
दशैं जस्तो ठूलो पर्वमा खर्च जुटाउनकै लागि धेरैले शेयर बेच्ने तयारी गरे पनि कारोबार बन्द हुँदा रकम हातमा आउन सकेको थिएन । यसले परिवारको खर्च व्यवस्थापनदेखि यात्रा, किनमेल, चाडपर्व तयारीमा उनीहरूलाई असुविधा भएको थियो । अब बजार खुलेपछि तत्काल बेच्ने मनसाय बढ्ने भएकाले राताम्य हुने सम्भावना थप चुलिएको छ ।
यद्यपि, राताम्य केवल बेच्ने दबाबका कारण मात्र होइन । मुलुकको राजनीतिक परिवेश अझै स्पष्ट नभएको, पुराना दलहरूको विरोध आन्दोलन जारी रहने संकेत, जेनजी आन्दोलनभित्रकै विभाजन र नवनियुक्त अर्थमन्त्रीको नीति प्रति लगानीकर्तामा अन्योलले पनि बजारलाई राताम्यतर्फ धकेल्ने देखिन्छ ।
शेयर बजार लामो समयदेखि अर्थतन्त्रको नाजुक अवस्थासँग जोडिएको छ । अघिल्ला प्रधानमन्त्री र अर्थमन्त्रीले यसलाई अर्थतन्त्रको ऐना भनेर प्राथमिकता दिएका थिए । तर अहिले स्वतन्त्र व्यक्तिको नेतृत्वमा बनेको अन्तरिम सरकार छ, जसको दृष्टिकोण अझै स्पष्ट छैन । त्यसैले बजार खुलेपनि भविष्य के हुन्छ भन्ने चिन्ता बढेको छ ।
लगानीकर्ताको मनोविज्ञान: बेच्ने दबाब र राताम्यको डर
नेपालमा चाडपर्व आउनु अघि सामान्यतया शेयर बजारमा बेच्ने दबाब बढ्ने गरेको छ । दशैं र तिहार नेपालीका लागि ठूलो पर्व भएकाले खर्च जुटाउनुपर्ने आवश्यकताले लगानीकर्ताले आफ्नो लगानी नबिक्री तिर हाबी हुन्छन् । यसपटक यो दबाब झन् बढी हुने अनुमान गरिएको छ ।
भदौ २४ गतेदेखि बजार बन्द हुँदा लगानीकर्ताले रकम निकाल्न सकेनन् । यसबीचमा बैंक खाता सञ्चालनदेखि घरायसी खर्च व्यवस्थापनसम्म कठिनाइ बढेको छ । धेरै लगानीकर्ताले ऋणसमेत तिर्नुपर्ने भएकाले बजार खुल्नेबित्तिकै आफ्नो शेयर बेच्नेछन् भन्ने अपेक्षा बजार विश्लेषकले गरेका छन् । यस्तो परिस्थिति राताम्य हुने प्रमुख कारण बन्नेछ ।
अर्कोतर्फ, जेनजी आन्दोलनले बैंक शाखामा क्षति पुर्याएको छ । ६८ भन्दा बढी बैंक शाखामा तोडफोड भएको विवरण सार्वजनिक भइसकेको छ । यी कम्पनीकै शेयर बजारमा सूचीबद्ध भएकाले प्रत्यक्ष असर पर्ने निश्चित छ । कम्पनीमा क्षति पुगेको सूचना आउनासाथ लगानीकर्ताले डरका कारण आफ्ना शेयर बेच्न हतार गर्नेछन्, जसले बजार अझै राताम्य बनाउनेछ ।
नवनियुक्त अर्थमन्त्री खनालप्रतिको अपेक्षा र अनिश्चितता
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल सोमबार मात्र पदभार ग्रहण गरेका छन् । उनी स्वतन्त्र पृष्ठभूमिबाट आएका व्यक्तित्व हुन् । यसअघि उनी उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको संयोजक बनेका थिए । सो आयोगले प्रस्तुत गरेको प्रतिवेदनमा पुँजी बजारको अवस्था र सुधारका उपायबारे स्पष्ट खाका प्रस्तुत गरिएको छ ।
त्यो प्रतिवेदनले पुँजी बजारलाई बैंकको विकल्पको रूपमा पुँजी परिचालन गर्ने सशक्त माध्यमका रूपमा उल्लेख गरेको छ । उत्पादनमूलक कम्पनीलाई बजारमा ल्याउने, बाह्य पुँजी प्रवाह बढाउने, गैरआवासीय नेपालीलाई प्राथमिक र दोस्रो बजारमा सहज पहुँच दिने, डेरिभेटिभ र वस्तु विनिमय बजार सुरु गर्ने र बजारलाई दीर्घकालीन र सस्तो लागतको स्रोत जुटाउने माध्यम बनाउने सुझाव प्रतिवेदनमा दिइएको थियो ।
अब खनाल स्वयं अर्थमन्त्री बनेपछि उनी आफ्नै प्रतिवेदनका सुझावलाई व्यवहारमा उतार्छन् वा उतार्दैनन् भन्नेबारे लगानीकर्तामा उत्सुकता छ । तर तत्काललाई भने राजनीतिक अस्थिरता र आन्दोलनका कारण उनको कदमप्रति विश्वास बढ्न सकेको छैन । लगानीकर्ताले खनाललाई दीर्घकालीन सुधारका लागि सक्षम ठान्दा पनि छोटो अवधिमा बजार राताम्य हुने यथार्थलाई अस्वीकार गर्न सक्दैनन् ।
शेयर बजारको भविष्य केवल आर्थिक नीतिबाट मात्र होइन राजनीतिक स्थायीत्वसँग पनि गाँसिएको हुन्छ । अहिले मुलुकमा स्वतन्त्र नेतृत्वको सरकार गठन भए पनि पुराना दलहरूले त्यसलाई संविधानविरोधी भन्दै आलोचना गरिरहेका छन् । उनीहरूले अदालतसम्म जाने चेतावनी दिएका छन् । यस्तो अवस्थामा सरकारको दीर्घकालीन भविष्य अनिश्चित देखिएको छ ।
राजनीतिक अस्थिरता बढ्ने संकेतका कारण लगानीकर्ताले अझै सतर्कता अपनाउनेछन् । उनीहरू लामो समयको लागि लगानी गर्नेभन्दा पनि छोटो समयमै आफ्नो रकम सुरक्षित गर्ने मनस्थितिमा छन् । यसले बजारमा खरिदभन्दा बिक्री बढ्नेछ र सूचक राताम्य हुने निश्चित देखिन्छ ।
तर, सबै लगानीकर्ता निराश छैनन् । केहीले बजारमा सुधार आउने विश्वास राखेका छन् । उनीहरूले खनालकै नेतृत्वमा बनेको प्रतिवेदनलाई आधार मानेर अब सुधार सम्भव हुने तर्क गरेका छन् । प्रतिवेदनले बजारमा उत्पादनमूलक कम्पनीको प्रवेश बढाउनुपर्ने, ठूला कम्पनीलाई बजारमार्फत स्रोत जुटाउन प्रेरित गर्ने, गैरआवासीय नेपालीलाई आकर्षित गर्ने जस्ता उपाय सुझाएको छ ।
यदि ती सुझावलाई व्यवहारमा उतारियो भने बजार दीर्घकालीन रूपमा बलियो बन्न सक्नेछ । तर तत्काललाई भने राताम्य हुने चिन्ता ठूलो छ ।
अपडेटेड













