एशियन ब्याट्रीको एक वर्षमा ६२ करोडभन्दा बढीको कारोबार, आईपीओ ल्याउने तयारी

१ आश्विन २०८२, बुधबार १८:३०

काठमाडौं । विद्युतीय सवारीसाधन र विभिन्न किसिमका ब्याट्री उत्पादन गर्ने एशियन ब्याट्री कम्पनीले पछिल्लो आर्थिक वर्षमा उल्लेखनीय कारोबार गर्न सफल भएको छ । कम्पनीले गत आवमा करिब ६२ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।

सन् २०१२ मा स्थापना भएको यो कम्पनीले सन् २०२५ मा आएर मात्र पब्लिक कम्पनीको रूप लिएको हो । कम्पनीले निकट भविष्यमा साधारण जनतामाझ प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारीसमेत गरिरहेको छ ।

उद्योगका अनुसार विगत केही वर्षयता कम्पनीको व्यवसायिक आय निरन्तर वृद्धि भइरहेको छ । सन् २०२३ मा करिब ४३ करोड रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीले सन् २०२४ मा झन्डै ५१ करोड ७० लाख रुपैयाँ कारोबार गरेको थियो । सोही क्रममा सन् २०२५ मा आएर कारोबार ६२ करोड रुपैयाँ नाघेको छ । कम्पनीले सन् २०२१ देखि हालसम्म कारोबार वार्षिक औसत २९ प्रतिशतले बढ्दै आएको जनाएको छ ।

नाफाको हिसाबमा पनि कम्पनीले क्रमशः सुधार देखाएको छ । अघिल्लो वर्ष २.३२ प्रतिशत खुद नाफा कमाएको कम्पनीले हालै सम्पन्न आर्थिक वर्षमा ३.३९ प्रतिशत नाफा हासिल गरेको छ ।

विराटनगरस्थित उद्योगमार्फत कम्पनीले हाल वार्षिक ५४ मेट्रिक टन क्षमतामा उत्पादन गर्दै आएको छ । कम्पनीले विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्रीसँगै अटोमोटिभ र ट्युबलर ब्याट्री पनि उत्पादन गरी आन्तरिक बजारमा आपूर्ति गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*