विदेशमा रहेका नेपालीलाई निर्वाचनमा भाग लिन दिने अडानमा गृहमन्त्री अर्याल
२ आश्विन २०८२, बिहीबार १४:२१

काठमाडौं । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था जसरी पनि मिलाउले अडान लिएका छन् । विहीबार निर्वाचन आयोगमा छलफल गर्दै कम्तीमा पनि समानुपातिकतर्फ भने पनि मतदानको व्यवस्था मिलाउनुपर्ने गृहमन्त्री अर्यालले बताएका हुन् ।
उनले निर्वाचन आयोगले यसको गाँठो फुकाउनुपर्ने र सरकारले आवश्यक अध्यादेश ल्याउने बताए । उनले सर्वोच्च अदालतको आदेशबमोजिम पनि सकेसम्म सबै देशमा रहेका नेपालीलाई मतदानको अवसर दिलाउने बताए ।
नभए पनि सम्भव हुने देश र सहरमा मतदानको व्यवस्था मिलाउने भन्दै सम्बन्धित देशका दूतावासमा मतदानको व्यवस्था मिलाउनुपर्ने बताए । उनले नो भोटको व्यवस्था समेत मिलाइने बताए ।













