‘आईपीओ प्रक्रियामा पारदर्शिता र १५ मिनेटको नियम खारेज नभएसम्म बोर्डको दैलोमा धर्ना’

२ आश्विन २०८२, बिहीबार १६:३६

काठमाडौँ । शेयर लगानीकर्ताहरु धितोपत्र बोर्ड (सेबोन) अगाडि धर्नामा बसेका छन्। विभिन्न मागहरु अघि सारेका उनीहरुले बोर्डको ध्यानाकर्षण गर्न दबाबका साथ धर्ना कार्यक्रम थालेका हुन्। लगानीकर्ताले आफ्ना मागहरुलाई सार्वजनिक गर्दै हातमा प्लेकार्ड बोकेर धितोपत्र बोर्डको दैलोमै पुगेर आन्दोलनको शैलीमा धर्ना दिएका छन्।

आईपीओ प्रक्रियामा पारदर्शिता र १५ मिनेट नियम खारेज नभएसम्म धर्ना कायम रहेन लगानीकर्ता अग्रवालले बीमापोष्टलाई बताए । उनले भने, ‘हाम्रो साथीहरु धितोपत्र बोर्डमा धर्ना बसी सकेका छन्। आइपीओ प्रक्रियामा पारदर्शिता र १५ मिनेटको नियम खारेज नभएसम्म हामी २४ घण्टै धर्ना बस्छौं।’

उनका अनुसार अहिले धितोपत्र बोर्डले नकारात्मक नेटवर्थ भएका कम्पनीहरुलाई समेत आईपीओ ल्याउन अनुमति दिने कार्य भइरहेको छ। यस्तो प्रवृत्तिले पूँजी बजारमा पारदर्शिता र लगानीकर्ताको विश्वासमा गम्भीर प्रश्न खडा भएको उनको आरोप छ। अग्रवालले भने, ‘पहिलोदेखि बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुले अझै अनुमति पाएका छैनन्। तर, पछिल्लो समय आएका, अझ नकारात्मक नेटवर्थ भएका कम्पनीहरुलाई समेत प्रिमियममा आईपीओ अनुमति दिने काम भइरहेको छ। यस्ता चलखेलको विरोधमा हामी टिम धर्नामा बसेका हौं।’

धर्नामा सहभागी भएका लगानीकर्ताहरु कुनै संगठनमा आवद्ध नभई आफ्ना मागहरु पुरा गराउन दबाब दिने उद्देश्यले स्वतःस्फूर्त रुपमा सहभागी भएको अग्रवालको भनाइ छ। उनले भने, ‘यो कुनै संस्थागत धर्ना होइन, हामी व्यक्तिगत स्तरमा आएका हौं। बोर्डले हाम्रो माग सम्बोधन नगरेसम्म हामी २४ घण्टै धर्ना बस्नेछौं।’

उनले अहिले बजार घट्नुमा दुईवटा प्रमुख कारण रहेको बताए। पहिलो, आईपिओ प्रक्रियामा पारदर्शिताको कमी, दोस्रो १५ मिनेट नियमका कारण लगानीकर्ताको मनोबल कमजोर भएको हो। उनको भनाइमा यी दुवै समस्या समाधान नगरी बजारमा स्थायित्व आउन सक्दैन। उनले थपे, ‘बोर्डले तत्काल हाम्रो माग सम्बोधन गर्नुपर्छ।’

अग्रवालले धर्नामा बसेका साथीहरूलाई साथ सहयोग दिन सबै लगानीकर्ताहरूलाई आह्वान समेत गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*