बीमा प्राधिकरणको अस्थिरता अन्त्य गर्न कर्मचारीहरुको माग

२ आश्विन २०८२, बिहीबार १९:१६

काठमाडौँ । नेपाल बीमा प्राधिकरणमा देखिएको नेतृत्वको अस्थिरताप्रति कर्मचारी संगठनहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। अर्थ मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्राधिकरणका कर्मचारी यूनियन र कर्मचारी संगठनले बीमा ऐन २०७९ अनुसार स्थापित संस्थाले एक वर्षको अवधिमा ४–५ पटक अध्यक्ष परिवर्तन भोग्नु परिरहेको उल्लेख गरेका हुन् । यस्तो अवस्थाले कर्मचारीको मनोबल मात्र नभई बीमा क्षेत्रका सम्पूर्ण सरोकारवालामा नैराश्यता फैलिएको उनीहरूको भनाइ छ।

ध्यानाकर्षण पत्रमा प्राधिकरण बीमा बजारलाई नियमन गर्दै बीमितको हकहित संरक्षण गर्ने जिम्मेवारी बोकेको स्वशासित संस्था भएको स्मरण गराइएको छ। तर नेतृत्वमा निरन्तर देखिएको अस्थिरताले वित्तीय प्रणालीको महत्वपूर्ण खम्बा मानिने बीमा क्षेत्रमा नकारात्मक प्रभाव पारेको भन्दै चासो व्यक्त गरिएको छ।

विगत एक वर्षयता अध्यक्ष नियुक्ति प्रक्रियामा आएको दोधार र अस्थिरताले नियामक निकायको कार्यक्षमता कमजोर भएको भन्दै संगठनहरूले चाँडो निकास दिन अर्थ मन्त्रालयलाई आग्रह गरेका छन्। ध्यानाकर्षण पत्रमा भनेको छ, हाल देश आर्थिक कठिनाइको अवस्थामा रहेको बेला बीमा प्राधिकरणले स्थिर नेतृत्वमार्फत बीमितलाई आर्थिक क्षतिबाट पुनरुत्थान गर्ने महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ।

ध्यानाकर्षण पत्रमा नेपाल बीमा प्राधिकरण कर्मचारी यूनियनका अध्यक्ष प्रेमहरि पोखरेल र नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवालीले हस्ताक्षर गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*