‘गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएको हतियारबाट गोली चल्यो’ केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताको आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको र प्रहरीसँग हुँदै नभएको हतियार (बन्दूक) बाट गोली चलेको दाबी गरेका छन्।
ओलीले आज संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य जारी गर्दै यस्तो दाबी गरेका हुन्। उनले फेसुबकमा लेखेका छन् ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएको स्वचालित हतियारले गोली हानेको घटनाको छानबीन हुनुपर्छ।’
साथै उनले यतिबेला संविधानमाथि ठूलो आक्रमण भएको बताउँदै आफ्नो राजीनामापछि सिंहदरबार जलाइएको, नेपालको नक्शासँगै देशको निशानी मेटाउन खोजिएको उल्लेख गरेका छन्।
उनले ‘देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो?’ भन्दै प्रश्न गरेका छन्।
जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका केपी शर्मा ओली हालै मात्र सेनाको ब्यारेकबाट फर्किएका हुन्। उनले सार्वभौमसत्तामाथि गरिएको प्रहारको सामना गर्न र संविधानको रक्षा गर्न सबै पुस्ताका नेपालीलाई एकजुट हुन अपील समेत गरेका छन्।













