लगानीकर्ताको दबाबपछि अन्तिम १५ मिनेटमा मूल्य तोक्ने नियम हट्ने!
३ आश्विन २०८२, शुक्रबार १०:५४

काठमाडौँ । लगानीकर्ताको निरन्तर दबाबपछि नेपाल धितोपत्र बोर्डले शेयर बजारमा लागू गरिएको विवादास्पद मूल्य निर्धारण प्रणाली हटाउने तयारी गरेको छ। अबदेखि कारोबारको अन्तिम मूल्य १५ मिनेटको आधारमा तय नहुने भएको हो ।
गत चैत ७ गतेदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २ः४५ देखि ३ बजेसम्मको कारोबार मूल्यलाई अन्तिम मूल्यका रूपमा लिन थालेको थियो। तर सो प्रणाली कार्यान्वयन भएदेखि नै यसले बजारमा कृत्रिम उतारचढाव निम्त्याएको भन्दै लगानीकर्ताले विरोध गर्दै आएका थिए।
बिहीबार लगानीकर्ताहरूले बोर्ड कार्यालयमै पुगेर नाराबाजी गर्दै नियम खारेजीको माग गरेका थिए। लगातार उठेको असन्तुष्टिपछि बोर्डले छलफल गर्दै नियम खारेज गर्ने संकेत दिएको हो। निकट स्रोतका अनुसार छिट्टै लागू हुने नयाँ व्यवस्थामा अन्तिम मूल्य तोक्न पुरानै अभ्यासलाई निरन्तरता दिइनेछ।













