अटो बजारमा रोयल इन्फिल्डको राज, आकर्षक डिजाइनले वर्षदिनमा ११ हजार ८८३ युनिट बिक्री

३ आश्विन २०८२, शुक्रबार १२:२३

काठमाडौं । नेपाली सडकमा रोयल इन्फिल्ड मोटरसाइकलले युवाको सपनालाई साकार बनाउँदै राज गरिरहेको छ। अटो बजारमा कडा प्रतिस्पर्धा र विभिन्न ब्रान्डको उपस्थितिका बाबजुद रोयल इन्फिल्डले आफ्नो विशेष पहिचान र बलियो उपस्थिति कायम राख्न सफल भइरहेको हो । मोटरसाइकलको आकर्षक डिजाइन, बलियो बनावट, लामो यात्राका लागि सहज अनुभव र ब्रान्डको नाममात्रले पनि युवाहरूको आकर्षणको केन्द्रबिन्दु बनेको छ।

नेपालमा रोयल इन्फिल्डको लोकप्रियता निरन्तर बढिरहेको देखिन्छ। त्रिवेणी समूह अन्तर्गत रहेको टीजी अटो ग्रुप प्रालिले नेपालमै रोयल इन्फिल्ड मोटरसाइकल एसेम्बल गर्दै आएको छ। कम्पनीको व्यापारिक प्रदर्शन पनि यसैअनुरुप उत्साहजनक रहेको छ। केयर रेटिङ नेपालका अनुसार कम्पनीले आर्थिक वर्ष २०८१।०८२ मा ३ अर्ब ७४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुलनामा २८.१७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २ अर्ब ९२ करोड २१ लाख रुपैयाँको कारोबार गरेको थियो।

नेपालको अटो बजारमा प्रतिस्पर्धा तीव्र हुँदै गएको अवस्थामा पनि ३० प्रतिशतको कारोबार वृद्धिले कम्पनीको बलियो उपस्थिति र ब्रान्डप्रतिको ग्राहकको विश्वास देखाएको छ । यसले नेपालमा रोयल इन्फिल्डको बजार स्थितिलाई अझ मजबुत बनाएको छ।

कम्पनीले गत आर्थिक वर्षमा ११ हजार ८८३ युनिट रोयल इन्फिल्ड मोटरसाइकल बिक्री गर्न सफल भएको छ। अघिल्लो वर्षमा कम्पनीले १० हजार ८५ युनिट मोटरसाइकल बिक्री गरेको थियो। यसले बजारमा कम्पनीको निरन्तर बढ्दो माग र ग्राहक विश्वासलाई प्रमाणित गरेको छ। रोयल इन्फिल्डका मध्य आकारका मोटरसाइकलहरू नेपालमा वर्षौंदेखि क्रान्तिकारी उपस्थिति जनाउँदै आएका छन्।

कम्पनीले आफ्नो अनौठो ब्रान्ड पहिचान स्थापित गर्दै बजारमा प्रभावकारी रूपमा उपस्थितिलाई विस्तार गरेको छ। दीर्घकालीन रूपमा स्थापित वैश्विक ब्रान्ड भएकाले रोयल इन्फिल्डले प्रिमियम दुईपाङ्ग्रे वर्गमा छिटो उपस्थिति र ग्राहक आधार बनाउन सक्षम भएको छ। नेपालमै एसेम्बल हुने भएकाले गुणस्तर कायम राख्दै मूल्य प्रतिस्पर्धी भएको छ। यसले बजारमा रहेका अन्य विदेशी मोटरसाइकलहरूसँग प्रतिस्पर्धा गर्न थप सहज बनाएको छ।

टीजी अटो ग्रुप त्रिवेणी समूहको एक हिस्सा सन् २०२२ मे २४ मा निजी लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो। कम्पनी नेपालमा रोयल इन्फिल्डको एक मात्र आधिकारिक उत्पादक र आपूर्तिकर्ता हो। कम्पनीले बारा जिल्लामा १ लाख वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक एसेम्बल इकाई निर्माण गरेको छ, जसको वार्षिक उत्पादन क्षमता २० हजार युनिट रहेको छ। सन् २०२३ मे महिनाको मध्यदेखि कम्पनीले व्यावसायिक सञ्चालन सुरु गरेको हो।

कम्पनीको पिबिआइएलडीटी मर्जिन अघिल्लो वर्ष ६.११ प्रतिशतमा सीमित भए पनि पछिल्लो वर्ष ६.६५ प्रतिशतमा पुगेको छ। यसले कम्पनीको नाफा कमाउने क्षमता बढ्दो क्रममा रहेको देखाउँछ। त्यस्तै, समग्र ऋण अनुपात (ओभरअल गियरिङ) १.९२ गुणाबाट घटेर १.५३ गुणा पुगेको छ।

सबैभन्दा महत्वपूर्ण सुधार इन्टरस्ट कवरेजमा देखिएको छ। अघिल्लो वर्ष ५.१२ गुणा रहेको सूचक अहिले २७.९५ गुणा पुगेको छ। यसले कम्पनीले आफ्ना ऋण दायित्वहरू सहजै व्यवस्थापन गर्न सक्ने क्षमता देखाउँछ। करेन्ट रेसियो (हालको अनुपात) पनि ०.८९ गुणाबाट बढेर ०.९८ गुणा पुगेको छ।

टीजी अटो ग्रुपका छोटो अवधिका बैंक सुविधाहरूको रेटिङ ‘CARE-NP A3’ केयर रेटिङ नेपाल लिमिटेडले पुन: पुष्टि गरेको छ। कम्पनीको छोटो अवधिका बैंक सुविधाहरू ७०० करोड रुपैयाँसम्म पुगेको छ, जुन अघिल्लो ४५० करोड रुपैयाँको सुविधाभन्दा वृद्धि हो।

त्यसैगरी, कम्पनीको लामो अवधिका बैंक सुविधाहरूमा दिइएको ‘CARE-NP BBB-’ रेटिङ अब हटाइएको छ। कम्पनी र ऋणदाता दुवैको पुष्टि अनुसार उक्त ऋण तिर्न सकिएको र रेटिङ गरिएको सुविधा अन्तर्गत कुनै बाँकी रकम नभएको कारण रेटिङ हटाइएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*