अलपत्र आयोजनाको ठेक्का तोड्ने कुलमान घिसिङको चेतावनी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले भौतिक पूर्वाधार र सहरी विकासका लामो समयदेखि अलपत्र पारिएका जीर्ण आयोजनाको ठेक्का तोड्ने चेतावनी दिएका छन।
मन्त्री घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई काम नगरेका ठेकदारका आयोजनाको सूची तुरुन्तै पेश गर्न निर्देशन समेत दिएका छन्।
तोकिएको समय र गुणस्तरमा काम सम्पन्न नभएर मुलुकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको र नागरिक लाभबाट वञ्चित भएको घिसिङले बताएका छन्। उनले अब कसैको अनुहार हेरेर आयोजना थन्क्याउने अभ्यास सह्य नहुने र जीर्ण ठेक्का तोडी नयाँ प्रक्रिया अघि बढ्ने बताएका छन्।
सिंचाइ अन्तर्गत राष्ट्रिय गौरवको सुनकोशी मरिण बहुउद्देश्यीय आयोजना, भौतिक पूर्वाधार अन्तर्गत तीन सयभन्दा बढी सडक र एक सयभन्दा बढी पुल अलपत्र अवस्थामा रहेका छन्।













