नेपाल पुनर्बीमा कम्पनी कुल बजार पूँजीकरणको सर्वाधिक हिस्साको पहिलो नम्बरमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी कुल बजार पूँजीकरणको सर्वाधिक हिस्साको पहिलो नम्बरको सूचीमा परेको छ । विशाल बजार कम्पनीलाई पछि पार्दै नेपाल पुनर्बीमा अग्रस्थानमा रहेको छ ।
पछिल्लो समय कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण उच्च रहेको थियो । जेन–जी आन्दोलनपछिको पहिलो कारोबार दिन भने कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेको हो ।
असोज २ गतेको कारोबारमा प्रतिकित्ता १६३ रुपैयाँ १६ पैसाले घटेर प्रतिकित्ता १ हजार ४६८ रुपैयाँ ७० पैसा मूल्य कायम भएको कम्पनीको कुल बजार पूँजीकरण १ खर्ब ९७ अर्ब १३ करोड १६ लाख ६१ हजार रुपैयाँभन्दा बढी कायम भएको हो ।
यसअघि सर्वाधिक कुल बजार पूँजीकरण रहेको विशाल बजार कम्पनीको कुल बजार पूँजीकरण भने १ खर्ब ८३ अर्ब १० करोड रुपैयाँभन्दा बढी कायम छ ।
भदौको अन्तिम कारोबार दिनसम्मको तथ्यांकलाई हेर्दा नेपाल पुनर्बीमा कम्पनी पहिलो नम्बरमा र विशाल बजार कम्पनी दोस्रो नम्बरमा रहेका थिए ।
भदौ मसान्तसम्म सर्वाधिक बजार पूँजीकरण भएका १० कम्पनीको सूचीमा यी दुई कम्पनीसँगै तेसो नम्बरमा नेपाल दुरसञ्चार कम्पनी, चौथोमा नबिल बैंक, पाँचौंमा नागरिक लगानी कोष, छैटौंमा हिमालयन रिइन्स्योरेन्स, सातौंमा ग्लोबल आइएमई बैंक, आठौंमा एभरेष्ट बैंक, नवौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र दशौं नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स छ ।
भदौ मसान्तसम्म ४४ खर्ब ६७ अर्ब २९ करोड ७१ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण असोज २ गते एक दिनको कारोबारमा करीब ३ खर्बले घटेर ४१ खर्ब ९९ अर्ब २५ करोड ६४ लाख रुपैयाँ कायम भएको छ ।
सर्वाधिक पूँजीकरण भएका १० कम्पनीमध्ये ४ ओटा वाणिज्य बैंकहरू छन् । पुनर्बीमा क्षेत्रका दुवै कम्पनी परेका छन् भने एउटा बीमा कम्पनी छ ।













