आज तीन प्रदेशमा पानी पर्ने सम्भावना
५ आश्विन २०८२, आईतवार ०९:०८

काठमाडौं । नेपालमा मनसुनी वायु केही कमजोर भए पनि स्थानीय वायुसँगै आज देशका केही भागमा पानी पर्ने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली हुने र त्यहाँका केही स्थानमा पानी पर्न सक्नेछ।
तराईका केही भागमा पनि हल्का पानी पर्ने सम्भावना छ। आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल लाग्ने र मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) र साना–ठूला खोलानालामा पानीको सतह बढ्ने जोखिम रहेको विभागको चेतावनी छ। यसले यातायात तथा दैनिक जीवन प्रभावित गर्न सक्ने भएकाले सतर्क रहन र आवश्यक तयारी गर्न सबैलाई आग्रह समेत गरेको छ।













