सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब रुपैयाँ निकासा

५ आश्विन २०८२, आईतवार ११:१०

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान स्वरूप करिब १० अर्ब रुपैयाँ उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कार्यक्रमअनुसार पहिलो त्रैमासमै उक्त रकम निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । शनिबार मात्रै नौ अर्ब ८० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकलाई सोधभर्ना स्वरूप पठाइएको छ ।

दोस्रो त्रैमासका लागि छुट्याइएको रकमलाई संशोधनमार्फत पहिलो त्रैमासमा सारिएको हो । विगत सात त्रैमासयता वितरण गरिएको कर्जाको ब्याज भुक्तानीका लागि यो व्यवस्था मिलाइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थामार्फत प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानी नेपाल राष्ट्र बैंकले लामो समयदेखि पाउन सकेको थिएन । ताजा निकासाले सहुलियतपूर्ण कर्जा सहज हुने अपेक्षा गरिएको छ ।

निर्मित कार्यविधिअनुसार कृषि तथा पशुपन्छी क्षेत्रमा पाँच करोडसम्म, महिला उद्यमशीलता तथा स्टार्टअप व्यवसायमा २५ लाखसम्म, वैदेशिक रोजगारीबाट फर्किएका वा शिक्षित युवाका योजनामा २० लाखसम्म र विपद् पीडितलाई आवास निर्माणका लागि पाँच लाखसम्म कर्जा उपलब्ध गराउन सकिन्छ ।

यस किसिमका कर्जामा तिर्नुपर्ने ब्याज सरकारले अनुदानमार्फत बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउने व्यवस्था रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*