दशैंअघि नागढुंगा सुरुङमार्गमा परीक्षण यातायात खुल्ने
५ आश्विन २०८२, आईतवार १२:२६

काठमाडौं । लामो समयदेखि प्रतीक्षित नागढुंगा सुरुङमार्ग अब दशैंअघि नै परीक्षणका लागि खुल्ने तयारी भएको छ। आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको र सबै भौतिक संरचना तयार भइसकेको सडक विभागले जनाएको छ।
दशैं आउनुभन्दा ३ देखि ४ दिनअघि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुवाहक बसलाई प्राथमिकता दिँदै सुरुङमार्गमा परीक्षण यातायात सञ्चालन गर्ने योजना बनाइएको छ।
यसका लागि ठेकेदार कम्पनी, परामर्शदाता तथा सुरक्षासम्बन्धी निकायसँग छलफल चलिरहेको विभागले जनाएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाबाट पश्चिमतर्फ जाने यात्रु तथा मालवाहक सवारीसाधनलाई ठूलो सहजता हुने अपेक्षा गरिएको छ।













