शेयर लगानीकर्ता पुगे राष्ट्र बैंकको दैलोमा, बजार सुधारका लागि गभर्नरलाई बुझाए ६ बुँदे सुझाव

५ आश्विन २०८२, आईतवार १४:२४

काठमाडौं । शेयर बजारमा अस्वाभाविक उतारचढाव र लगानीकर्तामाथि परेको ठूलो असरपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग प्रमुख लगानीकर्ताहरूले भेट गरी आवश्यक सुधारका माग प्रस्तुत गरेका छन्। वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल, नेपाल पुँजी बजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्कीको टोलीले संयुक्त रूपमा गभर्नरलाई ज्ञापन पत्र बुझाएका छन्।

भेटमा लगानीकर्ताहरूले शेयर बजारमा अचानक आएको ठूलो गिरावटले बजारमा त्रास फैलाएको र सावधानीविना बजार खुलाउँदा ठूलो लगानी गुम्न पुगेको गुनासो गरेका छन्। उनीहरूले बैंक तथा वित्तीय संस्थाहरूको नीति, पुँजी बजारमा लगानीका सीमा, लघुवित्त संस्थाको लाभांश वितरण, र गैरआवासीय नेपाली (एनआरएन) को लगानी प्रवाह सहज बनाउने लगायतका सुधारका आवश्यकता औँल्याएका छन्।

लगानीकर्ताहरूले प्रमुख मागमा व्यक्तिगत शेयर धितो कर्जा सीमाको पूर्ण खारेजी, बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबार गर्ने अवसर, लघुवित्त संस्थाको लाभांश वितरणमा नियम परिमार्जन, बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी गर्न सक्ने सीमामा सुधार र एनआरएनलाई लगानीका लागि सहज वातावरण सिर्जना गर्न नीति संशोधन गरिनुपर्ने उल्लेख गरेका छन्।

विशेष रूपमा, बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा स्वतन्त्र र विवेकपूर्ण रूपमा खरिद-बिक्री गर्न अनुमति दिएर बजारमा दीर्घकालीन तरलता प्रवाह बढाउने, लगानीकर्तामैत्री वातावरण सिर्जना गर्ने, लघुवित्त संस्थालाई वास्तविक नाफा र वित्तीय क्षमताको आधारमा लाभांश वितरण गर्ने, र एनआरएनलाई लगानीमा आकर्षित गर्ने नीति अपनाउन सुझाव दिइएको छ।

लगानीकर्ताहरूको यो पहलले मात्र शेयर बजारमा स्थायित्व ल्याउने सम्भावना नभई समग्र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। गभर्नर पौडेलसँगको भेटमा उनीहरूले तत्काल नीति संशोधन र सुधारका कदम चाल्न आग्रह गरेका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*