शेयर बजार ११६ अकंले बढ्यो, कारोबार समेत उच्च, चलखेल कि उत्साह ?

काठमाडौँ। पुँजी बजारमा आज उच्च सुधार देखिएको छ। गत बिहिबार राताम्य भएर तेस्रो पटक नकारात्मक सर्किट लागेर बन्द भएको बजार आज शतक अकंले वृद्धि भएको हो। यसले लगानीकर्तामा उत्साह थपेको छ।
दशैं–तिहारको मुख्य सिजनमा बजारको उचाई धेरैले चलखेलको रुपमा पनि लिएका छन् । यो सिजनमा धेरै लगानीकर्ताले दशैं खर्च र अन्य आवश्यकताका लागि शेयर बिक्री गर्नुपर्ने दबाव महसुस गर्ने गरेको पाइन्छ। कतिपयले ब्याज तिर्न वा तत्कालिक खर्च व्यवस्थापन गर्न समेत शेयर बिक्री गर्नुपर्ने अवस्था आउँछ । साथै, देशमा राजनीतिक अस्थिरता कायमै रहेको छ । सरकारको नीति बारे अझै लगानीकर्ता स्पष्ट भइसकेका छैनन् ।
तर यसै बेला बजारमा आएको वृद्धि आंशिक रूपमा पनि विश्वास बढाउने खालको मानिएको छ। कतिपय लगानीकर्ताले यो सुधारलाई बजारमा लय कायम हुने संकेतको रूपमा समेत लिएका छन्। यसले बजारमा उत्साहको वातावरण सिर्जना गरेको छ।
अर्थमन्त्री रामेश्वर खनालले शेयर बजारमा सुधारका लागि बनाएको कार्यदलले बजारमा आएको उचाईमा भूमिका खेलेको जनाएका छन्। १५ मिनेटको सीमा खारेज हुँदा बजारमा थप रौनक र कारोबार बढेको बुझाइ रहेको छ। यसले आगामी दिनमा बजारको दिशा र लगानीकर्ताको विश्वासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
दिर्घकालीन रुपमा अर्थमन्त्रालयले चालेका कदम सकारात्मक भएपनि तत्काल उचाई लिनु पर्ने कुनै कारण नभएको आंकलन भइरहेको छ । यस्तो समयमा माफियाहरुको चलखेलको भुमरीका साना र ज्ञान नभएका लगानीकर्ता फस्ने भएको हुँदा सचेत हुुनुपर्ने देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११६.०१ अकंले बढेर २६२७.९३ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको २ करोड ३२ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूचकमा हरियाली लागेको छ । बजार निर्जीवन बीमा कम्पनीको शेयरमा भने पहिरो गएको छ । जेन जी आन्दोलनको बेला तोडफोड भएको सम्पत्तिका लागि अर्बौ दाबी आउन थालेपनि निर्जीवन बीमा कम्पनीको शेयर मूल्य घटेको हो ।

यसदिन २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ ।













