४५ घण्टापछि खुल्यो नारायणघाट-मुग्लिन सडक
५ आश्विन २०८२, आईतवार १६:३२

काठमाडौँ । चितवनको तुइन खोलामा खसेको पहिरो पन्छाएपछि करिब दुई दिनपछि नारायणघाट–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ।
शुक्रबार साँझ करिब ७ बजेदेखि अवरुद्ध बनेको यो राजमार्ग आइतबार दिउँसोबाट सञ्चालनमा आएको हो। सुरुवाती चरणमा मोटरसाइकल आवागमनलाई प्राथमिकता दिइएको छ भने अन्य सवारी साधनलाई क्रमशः पास गर्न थालिएको छ।
सडक डिभिजन कार्यालयका अनुसार नारायणघाटतर्फबाट एक लोडर र एक एक्साभेटर, मुग्लिनतर्फबाट दुई लोडर र एक एक्साभेटर परिचालन गरेर पहिरो हटाउने काम गरिएको हो। बीच–बीचमा थप पहिरो खसिरहेकाले काममा चुनौती आएको भए पनि लगातार प्रयासपछि करिब ४५ घण्टामा बाटो सञ्चालनयोग्य बनेको जनाइएको छ।
सडक बन्द हुँदा हजारौं यात्रु बीचमै अलपत्र परेका थिए। लामो दूरीका बसदेखि मालवाहक गाडीहरू समेत रोकिनुपरेको थियो।













