जेन–जी आन्दोलनको क्षतिमा पर्यो २२ अर्ब २५ करोडको कुल बीमा दावी, कुन कम्पनीले कसरी दिंदैछन् भुक्तानी ?

काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज ५ गतेसम्ममा कुल २४७८ वटा बीमा दावीबापत उक्त रकमको कुल बीमा दावी परेको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार द ओरियण्टल इन्स्योरेन्समा सबैभन्दा बढी रुपैयाँको बीमा दावी परेको छ । कम्पनीमा कुल पाँच अर्ब २२ करोड ९८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीमा देशभरीबाट हालसम्म ७३ वटा दावी परेका छन् ।
सर्वाधिक बीमा दावी पर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीमा देशभरीबाट २७९ वटा दावी बापत पाँच अर्ब ८ करोड २८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।
साथै, सबैभन्दा बढी बीमा दावी पर्नेमा तेस्रो नम्बरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । हालसम्म कम्पनीमा कुल १७० वटा दावी बापत दुई अर्ब ७३ करोड ८४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । शिखर इन्स्योरेन्समा असोज ५ गतेसम्म ३७४ वटा दावी बापत कुल दुई अर्ब ३९ करोड ३३ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।
यसैगरी, जेन–जी आन्दोलनले सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २५७ वटा दावी बापत एक अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दावी बापत एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा २११ वटा दावी बापत एक अर्ब ११ करोड ८३ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण
नेपाल बीमा प्राधिकरणका अनुसार सानिमा जिआइसी इन्स्योरेन्समा १४२ वटा दावी बापत ८१ करोड सात लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दावी बापत ४८ करोड ५१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ८३ वटा दावी बापत ४७ करोड नौ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्समा १७४ वटा दावी बापत ४५ करोड ७२ लाख रुपैयाँको कुल बीमा दावी परेको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा १६४ वटा दावी बापत ४० करोड ९९ लाख रुपैयाँ, प्रभु इन्स्योेरेन्समा १०२ वटा दावी बापत २० करोड ३६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा २० वटा दावी बापत ६ करोड ८४ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ ।
साथै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ वटा दावी बापत एक करोड १३ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा नौ वटा दावी बापत ७२ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्समा नौ वटा दावी बापत ४४ लाख रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा १७ वटा दावी बापत ४१ लाख रुपैयाँ रुपैयाँको बीमा दावी परेको छ ।
नेपाल बीमा प्राधिकरणले जेन–जी आन्दोलन पीडितलाई राहत दिन छरितो दावी भुक्तानी प्रक्रियाका लागि सहजिकरण गरेको छ । प्राधिकरणले सक्दो चाँडो विवरण संकलन गरी बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।













