जेन–जी आन्दोलनः निर्जीवन बीमकमा पर्यो १८ अर्ब ६१ करोडको सम्पत्ति बीमा दावी, बागमतीमा सर्वाधिक

काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा हालसम्म सम्पत्ति बीमामा सबैभन्दा बढीको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको विवरण अनुसार बीमालेख अनुसार सम्पत्ति बीमा र प्रदेश अनुसार बागमती प्रदेशमा सर्वाधिक बीमा दावी परेको हो ।
जेन–जी आन्दोलनको क्षतिमा असोज ५ गतेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज ५ गतेसम्ममा कुल २४७८ वटा बीमा दावीबापत उक्त रकमको कुल बीमा दावी परेको छ ।
नेतृत्वबिहीन रहेको आन्दालनले आम नागरिकका व्यक्तिगत सम्पत्ति, व्यवसायीक सम्पत्ति, सवारी साधन तथा विभिन्न निर्माणाधिन योजना लगायतमा आगो लगाएर तहस–नहस गरेका थिए । आन्दोलनकारीले आगजनीका साथै, मनपरी रुपले विभिन्न व्यवसायीक मार्टहरुमा चोरी, डकैती समेत गरेका थिए ।
हालसम्म परेको प्रारम्भिक बीमा दावीमध्ये सम्पत्ति बीमालेखमा सबैभन्दा बढी रुपैयाँको बीमा दावी परेको छ । जेन–जी आन्दोलनकारीले सबैभन्दा बढी नागरीक र सरकारी सम्पत्तिमा क्षति पुर्याएका कारण सम्पत्ति बीमामा सर्वाधिक दावी परेको हो । सम्पत्ति बीमामा असोज ५ गतेसम्म कुल ५३८ वटा दावी बापत १८ अर्ब ६१ करोड आठ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । समग्र दावीको ८३ प्रतिशत यसमा परेको छ ।

साथै, देशभरी हजारौं सवारी साधनहरु जलेर नष्ट भएका छन् । मोटर बीमामा १७७८ वटा दावी बापत दुई अर्ब ९५ करोड २६ लाख रुपैयाँ, इन्जिनियरीङ्ग तथा ठेकेदार जोखिम बीमामा १३२ वटा दावी बापत ३३ करोड ३६ लाख रुपैयाँ, परिवहन बीमालेखमा ११ वटा दावी बापत एक करोड ५५ लाख रुपैयाँ र अन्यमा ३४ करोड ३८ लाख रुपैयाँको बीमा दावी परेको छ ।
प्रदेशगत विवरण अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी बीमा दावी परेको छ । देशको राजधानी र जेन–जी आन्दोलनकारीको निशानाको केन्द्रबिन्दु भएकाले बागमती प्रदेशमा सर्वाधिक क्षति भएको थियो । सोही क्षति अनुसार यस प्रदेशमा १३४३ वटा दावी बापत १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ ।
साथै, कोशी प्रदेशमा एक अर्ब ६५ करोड तीन लाख रुपैयाँ, गण्डकी प्रदेशमा एक अर्ब २९ करोड एक लाख रुपैयाँ, मधेश प्रदेशमा ५५ करोड २८ लाख रुपैयाँ, लुम्बिनी प्रदेशमा ४५ करोड ६९ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशमा २३ करोड ९६ लाख रुपैयाँ र कर्णाली प्रदेशमा आठ करोड ९३ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।

नेपाल बीमा प्राधिकरणले जेन–जी आन्दोलन पीडितलाई राहत दिन छरितो दावी भुक्तानी प्रक्रियाका लागि सहजिकरण गरेको छ । प्राधिकरणले सक्दो चाँडो विवरण संकलन गरी बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।













