अर्थमन्त्रालयको पत्रले धितोपत्र बोर्डमा खैलाबैला, कर्मचारीले लगाए कार्यालयमा ताला

काठमाडौँ । अर्थमन्त्रालयको पत्रले धितोपत्र बोर्डमा खैलाबैला मच्चिएको छ। मन्त्रालयको निर्णयले सेवासुविधा कटौती र थप आर्थिक दायित्व थोपरेको भन्दै आक्रोशित कर्मचारीहरूले मंगलबार बोर्डको कार्यालयमै तालाबन्दी गरेका हुन् ।
कर्मचारीहरूले बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको गाडीको चाबी समेत खोस्दै उनीलाई सवारीसाधन प्रयोग गर्न नदिने चेतावनी दिएका छन्। माग सम्बोधन नभएसम्म कार्यालयमा लगाइएको ताला नखोलिने कर्मचारीहरुले बताएका छन् ।
अर्थ मन्त्रालयले राजस्व सचिवस्तरको निर्णयमार्फत धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र कर्मचारी सुरक्षण कोष कार्यविधि, २०७५ तत्काल खारेज गर्न निर्देशन दिएको हो। मन्त्रालयको तर्कमा यी कार्यविधि धितोपत्र ऐन, २०६३, विधायन ऐन, २०८१, कार्यविभाजन नियमावली, २०७४ र बोर्ड कर्मचारी सेवा नियमावली, २०६८ विपरीत रहेका छन्।
यसबाहेक, विगतमा ती कोषमार्फत भुक्तानी भएको रकम सम्बन्धित कर्मचारीहरूसँग सरकारी बाँकी सरह असूल गर्ने प्रक्रिया सुरु गर्नुपर्ने निर्देशन पनि पत्रमै समावेश गरिएको छ।
त्यसैगरी, अर्थ मन्त्रालयले आगामी दिनमा कुनै पनि आर्थिक दायित्व पर्ने विषयमा निर्णय गर्नु अघि अनिवार्य सहमति लिनुपर्ने प्रावधान लागू गर्न आग्रह गरेको छ। यही कारणले धितोपत्र बोर्डमा असन्तुष्टि थप चुलिएको छ।














