दुई महिनाको वैदेशिक व्यापार: निर्यात ८८ प्रतिशतले उकालो, व्यापार घाटा अझै २५७ अर्बभन्दा माथि

८ आश्विन २०८२, बुधबार ११:०४

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा (साउन–भदौ) नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात, निर्यात र वैदेशिक व्यापार दुवै बढेका छन् ।

यस अवधिमा आयात १६.२३ प्रतिशतले बढेर ३०५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा आयात रकम २६२ अर्ब ५४ करोड रुपैयाँ थियो । त्यस्तै, निर्यातमा अझै ठूलो सुधार देखिएको छ । निर्यात ८८.५७ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात २५ अर्ब ९ करोड रुपैयाँ मात्र थियो ।

आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा भने अझै उच्च स्तरमै रहेको छ । गत वर्षको दुई महिनामा २३७ अर्ब ४५ करोड रुपैयाँको घाटा थियो भने यस वर्ष सो अवधिमा ८.५९ प्रतिशतले बढेर २५७ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

जम्मा वैदेशिक व्यापार २२.५४ प्रतिशतले बढेर ३५२ अर्ब ४७ करोड रुपैयाँमा पुगेको छ । गत वर्ष सो अवधिमा यो २८७ अर्ब ६४ करोड रुपैयाँ थियो ।

निर्यातमा सुधारसँगै आयात/निर्यात अनुपातमा भने ठूलो परिवर्तन भएको छ । अघिल्लो वर्ष आयात निर्यातभन्दा १०.४६ गुणा बढी थियो भने यस वर्ष यो अनुपात ६.४५ मा झरेको छ, जसले ३८.३६ प्रतिशतको गिरावट देखाउँछ ।

त्यस्तै, कुल व्यापारमा निर्यातको हिस्सा ८.७२ प्रतिशतबाट बढेर १३.४२ प्रतिशत पुगेको छ, जुन ५३.८८ प्रतिशतको वृद्धि हो । आयातको हिस्सा भने ९१.२८ प्रतिशतबाट घटेर ८६.५८ प्रतिशतमा झरेको छ, जसमा ५.१५ प्रतिशतको कमी आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*