ग्रीनलाइफ हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने, एकैचोटी बोलायो तीन आवको साधारणसभा

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित तेह्रौं, चौधौं र पन्ध्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैकठले कात्तिक १८ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।
उक्त सभाले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै आव ०७८/७९, ०७९/८० र ०८०/८१ को वित्तीय विवरणहरू पारित गरी आव ०७९/८० र ०८०/८१ का लागि भएको लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गरी आव ०८१/८२ का लागि लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारण गर्नेछ।
त्यसैगरी सञ्चालक नियुक्ति अनुमोदन तथा सर्वसाधारण समूहबाट बाँकी अवधि प्रतिनिधित्व गर्ने सञ्चालक चयन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।
सभा प्रयोजनार्थ कम्पनीले आगामी कात्तिक १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा कात्तिक ११ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै उक्त सभामा भाग लिन सक्नेछन्। कम्पनीले लाभांश वितरण सम्बन्धी भने कुनै पनि प्रस्ताव गरेको छैन।













