बिलिङ प्रणालीको त्रुटिले टेलिकमको मोबाइल डाटा घण्टौँदेखि अवरुद्ध

९ आश्विन २०८२, बिहीबार १०:५४

काठमाडौं । नेपाल टेलिकमको मोबाइल इन्टरनेट सेवा विहानदेखि अवरुद्ध हुँदा उपभोक्ता समस्या खेपिरहेका छन् । करिब बिहान ८ बजेदेखि मोबाइल डाटा चल्न नसक्दा सेवा प्रयोगकर्ताले असुविधा भोग्नु परेको हो । टेलिकमका अनुसार कलमा देखिएको अवरोध छोटो समयमा समाधान भए पनि इन्टरनेट सेवा भने अझै सञ्चालनमा आउन सकेको छैन ।

संस्थाले समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको जनाएको छ । बारम्बार हुने यस्ता प्राविधिक अवरोधको कारण मुख्यत: पुरानो बिलिङ प्रणाली भएको उल्लेख गर्दै टेलिकमले यसलाई दुरुस्त गर्न आवश्यक प्रक्रिया अघि बढाइरहेको छ । तर, तत्कालका लागि उपभोक्ताले सेवा लिन नसक्ने स्थिति कायम रहेको छ ।

नयाँ बिलिङ प्रणालीका लागि टेलिकमले पछिल्लो समय ठेक्का प्रक्रिया अघि बढाए पनि मूल्य खोल्ने कार्य पटक–पटक स्थगित हुँदै आएको छ । असोज ८ गते पनि मूल्य खोल्ने मिति सारिएको थियो । यसअघि भदौ ३० गते तोकिएको प्रक्रिया ‘जेनजी आन्दोलन’का कारण प्रभावित भएको भन्दै टेलिकमले स्थगित गरेको जानकारी दिएको थियो ।

उक्त ठेक्कामा ह्वावे र ह्लेल क्लाउडले प्रस्ताव पेस गरेका थिए । जाँचपछी ह्वावेलाई मात्र प्राविधिक रूपमा योग्य मानिएको छ । हाल भने पुरानो प्रणाली एसिया इन्फोमार्फत सञ्चालन भइरहेको छ जसले समय–समयमा अवरोध निम्त्याउँदै आएको उपभोक्ताको गुनासो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*