वर्षदिनमा जगदम्बा स्पिनिङ मिल्सको व्यापार ४ अर्ब, पोलिस्टर स्पन र भिस्कोस यार्नको बजारमा पकड

९ आश्विन २०८२, बिहीबार १३:२८

काठमाडौँ । सौरभ समूहअन्तर्गतको कम्पनी जगदम्बा स्पिनिङ मिल्स लिमिटेडले वर्षदिनमा झण्डै चार अर्बको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ मा ३ अर्ब ९४ करोड ८० लाख रुपैयाँको कारोबार गर्ने सफल भएको हो ।

कम्पनीको व्यापार अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ११ करोड ४० लाख रुपैयाँले बढी हो । सो आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ८३ करोड ४० लाख रुपैयाँको कारोबार भएको थियो । यसअघि आर्थिक वर्ष २०७९/०८० मा ३ अर्ब ७९ करोड ९६ लाख र २०७८/०७९ मा २ अर्ब ३२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । विस्तारै कम्पनीको व्यापार अघि बढेको छ ।

सन् २००५ सेप्टेम्बरमा स्थापना भएको कम्पनीले सन् २०२१ जुलाईमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई अझ व्यवस्थित ढंगले व्यवसायिक यात्रा अघि बढाएको हो । रुपन्देहीको कमरिया–३ मा उत्पादन युनिट र काठमाडौंको तिनकुनेमा दर्ता कार्यालय रहेको यस कम्पनीले मुख्यतः पोलिस्टर स्पन यार्न (पीएसवाई) र पोलिस्टर भिस्कोस यार्न (पीभीवाई) उत्पादन गर्दै आएको छ । हाल कम्पनीको कुल वार्षिक उत्पादन क्षमता १७ हजार ८८५ मेट्रिक टन रहेको छ, जसले नेपालको कपडा उद्योगलाई आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन ठूलो योगदान पु-याएको छ ।

ईबीआईटिडीए अर्थात् ब्याज, कर, मूल्यह्रास र परिशोधन खर्चअघि नाफाको हिसाबमा कम्पनीले २०७८/७९ मा २२.३० प्रतिशत नाफा कमाएको थियो । तर, २०७९/८० मा यो घटेर १४.१४ प्रतिशतमा झ-यो भने २०८०/८१ मा झनै घटेर १२.२१ प्रतिशत पुगेको थियो । यद्यपि, पछिल्लो वर्ष २०८१/८२ मा भने कम्पनीले पुनः आफ्नो नाफा क्षमता सुधार गर्दै १५.१९ प्रतिशतसम्म पु-याएको छ ।

कम्पनीको ब्याज तिर्ने क्षमता उल्लेखनीय रहेको देखिएको छ । २०७८/७९ मा १९.८३ गुणा रहेको ब्याज कवरेज अनुपात २०७९/८० मा घटेर ३.१० गुणा पुगेको थियो । त्यस्तै २०८०/८१ मा २.७९ गुणामा सीमित भए पनि पछिल्लो २०८१/८२ मा भने कम्पनीले यसलाई एकैपटक ११.४७ गुणासम्म उकास्न सफल भएको छ ।

यस्तै ऋण सेवा कवरेज अनुपात (डीएससीआर) पनि २०७८/७९ मा १८.०६ गुणा थियो भने २०७९/८० मा २.८६, २०८०/८१ मा २.८४ पुगेको थियो । तर, २०८१/८२ मा पुनः ९.०३ गुणा पुग्नु कम्पनीको वित्तीय चुस्तता र दायित्व चुक्ता गर्ने क्षमतामा भएको सुधारलाई देखाएको छ ।

कम्पनीको वर्तमान अनुपात २०७८/७९ मा १.६८ गुणा थियो । २०७९/८० मा यो घटेर १.३२ पुगे पनि २०८०/८१ मा १.५९ र पछिल्लो वर्ष २०८१/८२ मा १.६१ गुणा कायम भएको छ । त्यस्तै, कम्पनीको गियरिङ अनुपात अर्थात् ऋण र स्वपुँजीबीचको तुलना पनि सकारात्मक देखिन्छ । २०७८/७९ मा १.७१ गुणा रहेको यो अनुपात २०७९/८० मा घटेर १.१३, २०८०/८१ मा ०.२७ र पछिल्लो वर्ष २०८१/८२ मा ०.३९ गुणा पुगेको छ ।

जगदम्बा स्पिनिङले २०८१/८२ मा उत्पादन क्षमता उपयोग दर करिब ९८ प्रतिशत पुगेको छ । उच्च स्तरको क्षमता उपयोगले कम्पनीको पोलिएस्टर धागो उत्पादनमा स्थिर माग रहेको र कम्पनीले आफ्ना कारखानाहरूलाई नजिकैको इष्टतम स्तरमा सञ्चालन गर्न सक्षम रहेको रेटिङको प्रतिवेदनमा भनेको छ ।

कम्पनीमा प्रमुख हिस्सेदारी दुर्गा प्रसाद न्यौपानेको करिब ३० प्रतिशत छ भने विष्णु प्रसाद न्यौपानेको करिब २१ प्रतिशत र बैबभ न्यौपानेको करिब १६ प्रतिशत स्वामित्व रहेको छ । हाल कम्पनीको अध्यक्ष पदमा विष्णु प्रसाद न्यौपाने रहेका छन् । कम्पनी आईपीओ निष्कासनको समेत तयारीमा जुटेको छ ।

कम्पनीको क्रेडिट रेटिङ सेप्टेम्बर २०८२ मा सुधारीएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको जारीकर्ता रेटिङलाई आइआरएन त्रिपल बि माइनसबाट आइआरएन त्रिपल बि मा उन्नत गरेको छ । यस रेटिङ अनुसार कम्पनीले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने मामिलामा मध्यम स्तरको सुरक्षा कायम राखेको मानिन्छ ।

त्यसैगरी, कम्पनीको दीर्घकालीन बैंक सुविधा १३७५ करोड रुपैयाँको लागि आइआरएन त्रिपल बि रेटिङ तोकिएको छ । छोटो अवधिको बैंक सुविधा २३४६ करोड रुपैयाँको लागि रेटिङ आइआरएन ए त्रि प्लसमा उन्नत गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*