सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा जेन–जी आन्दोलनको ५५ करोड दावी भुक्तानी, थप विवरण उपलब्ध गराउन बीमितलाई आग्रह

९ आश्विन २०८२, बिहीबार १५:०५

काठमाडौं । जेन–जी आन्दोलनको क्षतिको बीमा दावी भुक्तानी गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अग्रगामी भूमिकामा रहेको छ । कम्पनीले सुरुवाती चरणदेखि नै बीमितको हकमा दावी भुक्तानी यथासिघ्र उपलब्ध गराउने गरी काम अघि बढाएको छ ।

कम्पनीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्षतिमा परेका ११ वटा बीमा दावी बापत ५५ करोड ८ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । कम्पनीकोे बीमा दाबी यथासिघ्र भुक्तानी गर्ने प्रतिबद्धता स्वरुप हाल सम्म फछ्र्यौट तथा पेश्की सहित ११ दावी बापत उक्त रकम बराबरको भुक्तानी गरेको हो ।

जेन–जी आन्दोलनको क्षतिमा असोज ८ सम्म प्राप्त जानकारी अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३२२ बीमा दाबीहरु दर्ता भएका छन् र सो बापत पाँच अर्ब ४५ करोड बराबरको प्रारम्भिक बीमा दावी परेको छ ।

नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ समेत रहेका विरेन्द्र वैदवार क्षेत्रीले पनि बीमक संघसँग छलफल गरेर दावी भुक्तानी सक्दो चाँडो दिन सुझाव दिएका छन् । उनले जेन–जी आन्दोलनले क्षति भएका सम्पत्ति धनी तथा बीमितहरुको हकमा कुनै पनि समस्या उत्पन्न नगरी सरल रुपमा बीमा दावी भुक्तानी दिन बीमकहरु सक्षम र तयार रहेको धारणा व्यक्त गरेका छन् ।

उनले भने, ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमितहरुलाई बीमा दावी भुक्तानीमा कुनै कसर बाँकी राखेको छैन् । हामीले सुरु देखि नै आन्दोलनको क्षतिको विवरण संकलन गर्न सर्भेयर तथा कम्पनीका कर्मचारीहरुको विशेष टोली नै परिचालित गरेका छौं । सोही अनुरुप सरल र चाँडो रुपले बीमा दावी भुक्तानी गरीरहेका छौं ।’

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सम्पत्तिमा क्षति भई हाल सम्म सम्पर्कमा नआएका बीमितहरुलाई कम्पनीका प्रतिनिधिहरुसँग सम्पर्क गरी दाबी भुक्तानी प्रकृयामा सहयोग आग्रह समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*