तुइनखोलामा पहिरो पन्छाउने कार्य जारी, रातिसम्म सडक खुल्ने सम्भावना

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै खसेको पहिरो हटाउने कार्य जारी छ। बिहीबार दिउँसो २ः४५ बजेसम्म पहिरो पन्छाउने कार्य करिब ६० प्रतिशत सम्पन्न भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
सडक डिभिजन भरतपुरका पहिरो हटाउन नारायणगढतर्फबाट एउटा एक्साभेटर र एउटा लोडर, तथा मुग्लिनतर्फबाट दुईवटा लोडर र एउटा एक्साभेटर गरी कुल पाँचवटा उपकरणले काम गरिरहेका छन्।
पहिरो पन्छाउने क्रममा नारायणगढतर्फ ठूला ढुंगाहरूका कारण केही कठिनाइ भइरहेको छ। साथै, पहिरोमा साना र तीखा ढुंगाहरू धेरै भएकाले टायर पन्चर हुने तथा ढुंगा लागेर अपरेटर घाइते हुने जस्ता समस्या पनि देखिएका छन्। जसले गर्दा सोचेअनुसारको प्रगति हुन नसकेकोले हेभी इक्विपमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट थप दुईजना अपरेटरहरू बोलाइएको सडक डिभिजनले जनाएको छ।
सडक डिभिजनले पहिरो पन्छाउने कार्य निरन्तर चलिरहेको र कुनै बाधा नआएमा सम्भवतः आज रातिसम्ममा सडक पूर्ण रूपमा सञ्चालनमा आउने अनुमान गरेको छ।













