निर्जीवन बीमकको व्यवसायमा सुधारः सलिको र शिखर अगाडी, ग्रोथमा आक्रामक एनएलजी र युनाइटेड अजोड

काठमाडौँ । निर्जीवन बीमा कम्पनीले दुई महिनामा ८ अर्बमाथिको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को भदौ मसान्तसम्मको अवधिमा ८ अर्ब १२ करोड ८१ लाख ८७ हजार रुपैयाँको ब्यवसाय गरेका हुन् ।
कम्पनीहरुले गरेको ब्यवसाय गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा भने ४.९२ प्रतिशतले बढी हो । सो आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीले ७ अर्ब ७४ करोड ६७ लाख ५२ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए ।
चालु आर्थिक वर्षको दुई महिनामा सर्वाधिक कुल बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स पहिलो नम्बरमा रहेको छ । कम्पनीले यसअवधिमा ८९ करोड ४४ लाख रुपैयाँको ब्यवसाय गरेको हो । सर्वाधिक बीमा ब्यवसाय गर्नेमा अघि भएपनि कम्पनीको उक्त आर्जन भने गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने ११.६३ प्रतिशतले कम हो ।
त्यस्तै, सर्वाधिक कुल बीमा शुल्क आर्जन गर्नेमा दोस्रो नम्बरमा रहेको शिखर इन्स्योरेन्सले भने १७.२६ प्रतिशतले ब्यवसाय वृद्धि गरेको छ । यसअवधिमा कम्पनीले ८४ करोड ८२ लाख रुपैयाँ बीमा ब्यवसाय गरेको हो ।
समिक्षा अवधिमा सिद्धार्थ प्रिमियरको कुल बीमा शुल्क आर्जन ४.९२ प्रतिशतले घटेर ७७ करोड ३३ लाख पुगेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको १८.१६ प्रतिशतले बढेर ७१ करोड १७ लाख रुपैयाँ रहेको छ ।
कुल बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि गर्नेमा भने एनएलजि इन्स्योरेन्स र युनाइटेड अजोड अघि रहेका छन् । साउन र भदौंमा एनएलजि इन्स्योरेन्सको ब्यवसाय ४२.७४ प्रतिशतले बढेर ६८ करोड ७५ लाख र युनाइटेड अजोडको ५७ करोड ४८ लाख रुपैयाँ पुगेको हो ।

साथै, आइजिआई प्रुडेन्सियलको ब्यवसाय ८.४५ प्रतिशतले बढेर ६२ करोड ९१ लाख, दि ओरियन्टल इन्स्योरेन्सको ३४ प्रतिशतले बढेर ५९ करोड ५० लाख, नेको इन्स्योरेन्सको १.५१ प्रतिशतले घटेर ५८ करोड १ लाख, सानिमा जिआईसीको २४ प्रतिशतले बढेर ४९ करोड ३७ लाख र नेपाल इन्स्योरेन्सको १५.७५ प्रतिशतले बढेर ३६ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
साउन र भदौमा नेशनल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ६ प्रतिशतले घटेर ३५ करोड २ लाख पुगेको छ भने प्रभु इन्स्योरेन्सको ९.८९ प्रतिशतले वृद्धि भई ३२ करोड ३२ लाख रुपैयाँ पुगेको छ । सरकारी कम्पनी राष्ट्रिय बीमा कम्पनीको ब्यवसाय भने ४५.९४ प्रतिशतले घटेर २९ करोड ८१ लाख रुपैयाँमा समिति भएको छ ।













