आईजिआई प्रुडेन्सियलभित्र मौलाउँदै भ्रष्टाचारः सर्वसाधारणको लगानीमा संस्थापकको ब्रम्हलूट

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीभित्र सुशासन र बेथितीले सीमा नाघ्न थालेको तथ्यहरूले औंल्याएको छ । चुक्ता पूँजी बराबरकै दाबी एउटा घट्नामा पर्दा समेत पर्याप्त पुनर्बीमा नगरी गैरजिम्मेवार काम गरेको व्यवस्थापनले मुख्य–मुख्य सञ्चालकहरूलाई अनधिकृत र गैरकानूनी रूपमा सुविधा तथा भुक्तानी गर्ने गरेको खुलेको छ ।
आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा हजारौं सर्वसाधारणको एक अर्ब ४८ करोड ४३ लाख रुपैयाँको लगानी रहेको छ । संस्थापक र सर्वसाधारणको रेसियो ५१ः४९ प्रतिशत रहेको कम्पनीको व्यवस्थापन तह लगानीकर्ताको हितभन्दा संस्थापक शेयरधनीहरूको स्वार्थको काम गर्नमै व्यस्त रहने गरेको देखिएको छ । कम्पनीबाट संस्थापक शेयरधनीहरूको स्वार्थमा भने करोडौं रुपैयाँको काम हुने गरेको देखिएको छ ।
यसअघि आईजिआईबाट ब्राण्ड एम्बेसडरको नाममा विभिन्न सेलिब्रेटीहरूलाई करोडौं रकम भुक्तानी गराएर संस्थापकहरूले कमिशन समेत खाने गरेको तथ्य फेला परेको थियो । अहिले त संस्थापकहरूलाई सीधा सीधा भुक्तानी पाउने गरी काम हुने गरेको देखिन आएको छ ।
कम्पनीको पछिल्लो वित्तीय अवस्था चिन्ताजनक हुन पुगेको छ । जेन जी आन्दोलनको क्रममा कम्पनीमा पौने तीन करोड रुपैयाँभन्दा बढी बीमा दावी परेको छ । देशैभरी खरानी भएका भाटभटेनीका २१ वटा आउटलेटमध्ये ११ वटा भाटभटेनीको भवन तथा स्टकको बीमा आईजीआई प्रुडेन्सियलमा परेको छ । सो दावीका कारण कम्पनीको तरलतामा समेत समस्या पर्न सक्ने जनाइएको छ । अन्य बीमा कम्पनीहरूले अग्रिम भुक्तानी शुरू गरिसक्दा पनि आईजिआई प्रुडेन्सियल भने अन्योलमा फसिरहेको छ ।













