जीवन बीमकद्वारा साढे ६ अर्बको प्रथम बीमा शुल्क आर्जन, अग्रस्थानमा नेपाल र नेशनल लाइफ

१० आश्विन २०८२, शुक्रबार ११:४७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/०८३ को दुई महिनामा ६ अर्ब ५४ करोड ११ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार हाल सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरुले साउन र भदौमा बैदेशिक रोजगार बीमासहित उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

कम्पनीहरुको नयाँ व्यवसाय गत आर्थिक वर्ष २०८१/०८२ को दुई महिनाको तुलनामा १६.३९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आवको सोही अवधिमा ५ अर्ब ६२ करोड १ लाख रुपैयाँको बीमा व्यवसाय गरेका थिए ।

विवरण अनुसार दुई महिनामा पनि नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल लाइफको प्रथम बीम शुल्क ३९.११ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने नेशनल लाइफको १८.२७ प्रतिशतले बढेर ९२ करोड ७० लाख रुपैयाँ आर्जन गरेका छन् ।

समीक्षा अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये चार वटाको प्रथम बीमा शुल्क आर्जनमा गिरावट आएको छ । यता, सन नेपाल लाइफले वैदेशिक रोजगार बीमा कारोबार बहिस्कार गरेका कारण प्रथम बीमा शुल्क आर्जन सामान्य अंकले घट्न पुगेको हो ।

आइएमई लाइफ इन्स्योरेन्स नयाँ व्यवसाय भित्र्याउनमा आक्रामक देखिएको छ । कम्पनीले चालु आवको साउन र भदौ महिनामा मात्रै आफ्नो प्रथम बीमा शुल्क आर्जन ९१.८२ प्रतिशतले बृद्धि गरि २८ करोड ७५ लाख रुपैयाँ आर्जन गर्ने सफल भएको छ । यता, रिलायबल नेपाल लाइफ पनि नयाँ व्यवसाय भित्र्याउन आक्रामक रुपमा अघि बढिरहेको छ । कम्पनीले गत आवको तुलनामा आफ्नो नयाँ व्यवसाय ३९.५८ प्रतिशतले बढेर २८ करोड ९९ लाख रुपैयाँ पुराएको हो ।

साउन र भदौ महिनामा एलआईसी नेपालले समेत प्रथम बीमा शुल्क ३१.८७ प्रतिशतले बढाएर ४७ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा सिटिजन लाइफले प्रथम बीमा शुल्क २४.७८ प्रतिशतले बढाएर ४४ करोड २८ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले १९.४६ प्रतिशतले बढेर ३९ करोड ३६ लाख, मेट लाइफले १९.२९ प्रतिशतले बढाएर २५ करोड ६३ लाख, सानिमा रिलायन्सले ९.१५ प्रतिशतले बढाएर २५ करोड २० लाख र प्रभु महालक्ष्मी लाइफले २७.१७ प्रतिशतले बढाएर १९ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

यता, सूर्यज्योति लाइफले ४१ करोड ५३ लाख, हिमालयन लाइफले ३७ करोड ६६ लाख, एशियन लाइफले २७ करोड र सन नेपाल लाइफले १० करोड ६९ लाख रुपैयाँ नयाँ ब्यवसाय आर्जन गरेका छन् । यी कम्पनीको गत आर्थिक वर्षको तुलनामा प्रथम बीमा शुल्क आर्जन केहि घट्न पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*