दसैं मनाउनका साढे पाँच लाख काठमाडौं बाहिर

१५ आश्विन २०८२, बुधबार २१:२९

दसैं मनाउनका लागि काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको संख्या बढ्दै गएको छ। घटस्थापनादेखि मंगलबार बेलुकीसम्म आठदिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म पाँच लाख ५३ हजार २६१ जना यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा मात्रै ८५ हजार २८४ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौं बाहिरिने यात्रुको चाप बढेसँगै यात्रुको सुविधाका लागि विभिन्न नाका र पार्किङस्थलहरूमा थप ट्राफिक प्रहरी परिचालन गरिएको बताए।

उनले भने, ‘यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्ष, अनुगमन टोली र आपत्कालीन उद्धार टोली पनि सक्रिय छन्। ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ।’ चाडपर्वका समयमा तथा विषेशगरी लामो दूरीका सवारी चालकलाई मादकपदार्थ सेवन नगर्न, निर्धारित गतिमा सवारीसाधन चलाउन र सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ।

पछिल्लो २४ घण्टामा मात्र १७ हजार दुई सवारीसाधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*