देशभर वर्षाको विपत्ति, कुन सडकखण्डको अवस्था कस्तो छ ?

काठमाडौं । आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँहरूमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि वर्षाको मात्रा बढेको छ। लगातार झरी परिरहेको हो ।
अहिले पछिल्लो एक घण्टामै काठमाडौँमा ६, ललितपुरमा ९।८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको छ । अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको जल तथा मौसम विज्ञन विभागले जानकारी दिएको छ । पछिल्लो एक घण्टामा पर्सामा १० र रौतहटमा १०।६ मिलिमिटर वर्षा भएको छ । महोत्तरी र धनुषासम्म वर्षा भइरहेको जनाइएको छ ।
पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी कैलालीको गर्भामा ८३।२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। उनका अनुसार १२ घण्टामा पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको छ ।
बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक
काभ्रे – बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको छ। निरन्तर पानी परिरहेकाले वर्षासँगै बाढी र पहिरोको जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लास्थित बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
रोशी खोलामा पानीको बहाव उच्च भएकाले बाढीको जोखिम हुने सम्भावना रहेकाले राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको हो।
पानी निरन्तर परिरहेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुरोध गरेको छ।
सिन्धुलीमा पनि सवारी सञ्चालनमा रोक
वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि बीपी राजमार्गको सिन्धुलो खण्डमा पनि यातायात संचालनमा रोक लगाइएको छ। स्थानीय प्रशासनले शनिबार बिहानदेखि सवारी सन्चालनमा रोक लगाएको हो।
बीपी राजमार्गको सिन्धुलीतर्फ नेपालथोक, रातमाटा, आँपघारी लगायतका स्थानमा लेदोसहितको पहिरो झर्न थालेको र काभ्रे खण्डमा पहिरो झर्न थालेकाले यातायात संचालनमा रोक लगाइएको छ ।
बीपी राजमार्गमा रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाइयो, १० बजेपछि गाडी चल्न नदिइने
बीपी राजमार्गमा आज बिहान १० बजेपछि गाडी चल्न नदिइने भएको छ । अहिले राजमार्गमा रहेका गाडीलाई गन्तव्यमा पठाइसकेपछि थप गाडी नपठाइने सडक विभागले जनाएको छ ।
अवरुद्ध छैन बुटवल-नारायणगढ सडक
पूर्वी र पश्चिम नवलपरासीमा हिजो बेलुकादेखि वर्षा भइरहेको छ । यद्यपि यो समाचार तयार पार्दासम्म जिल्लामा डुबान र राजमार्ग अवरुद्ध भएका खबर प्राप्त भएका छैनन् । पूर्व पश्चिम राममार्गअन्तर्गत बुटवल(नारायणगढ सडक खण्ड सञ्चालनमा छ भने भित्री तथा सहायक मार्गमा पनि अवरोध नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले सतर्कता अपनाउन आग्रह गरेको छ ।
अरनिको राजमार्गमा पहिरो खसेपछि एकतर्फी सवारी सञ्चालन
पहिरोका कारण अरनिको राजमार्गमा एकतर्फी सवारी सञ्चालन गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सुख्खा पहिरो झरिरहेका कारण उक्त सडकमा एकतर्फीमात्रै सवारी सञ्चालन गरिएको हो।
राजमार्गको धुलिखेल–खावा सडक खण्डअन्तर्गत तिरतिरे धारामा स–साना ढुंगा झरिरहेकाले राजमार्गमा अहिले एकतर्फीमात्रै सवारी चलाइएको प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए। रातिदेखि परेको पानीले राजमार्गमा ढुंगासहित स–साना पहिरो झरिरहेको उनले बताए।
त्यस्तै, वीपी राजमार्गअन्तर्गत मंगलटारमा लेदोसहितको स–सानो पहिरो झरिरहेको छ।
अविरल वर्षासँग राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै राजमार्ग र मुख्य सडकहरू अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्गको जोहाङखोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका(१० जोहाङखोला नजिक पहिरो खस्दा चितवन तथा पोखरा हुँदै धादिङ भएर काठमाडौँ आउने–जाने सवारी साधनको आवागमन पूर्णरुपमा रोकिएका हुन्। हेटौंडा हुँदै काठमाडौं आउने कान्तिलोकपथमा ठुला गाडीहरू संचालन भएका छैनन् । मकवानपुर हुँदै काठमाडौँ आउने फर्पिङको बाटो पनि पहिरोका कारण अहिले अवरुद्ध बनेको छ। वीपी राजमार्गमा भने भारी वर्षाका कारण सवारी सञ्चालनका लागि रोक लगाइएको छ।
कान्ति राजमार्गमा समस्या छैन
वर्षाका कारण अन्य राजमार्गहरू बन्द भइरहेका बेला कान्ति राजमार्गमा भने बिहान पौने ९ बजेसम्म कुनै समस्या छैन। सडक विभागले कान्ति राजमार्गमा अहिलेसम्म कुनै समस्या नरहेको जनाएको छ। यद्यपि यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।
मौवा खोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
पृथ्वी राजमार्गअन्तर्गत धादिङको मौवा खोलामा पहिरो खस्दा सवारी आउजाउ अवरुद्ध भएको छ । धादिङको बेनीघाट रोराङ(१० जवाङखोलामा गएराति पहिरो खसेको थियो । सो पहिरो पन्छाएको केही समयमा नै बिहान ६ बजेतिर पुनः पहिरो खसेपछि अहिले सो खण्ड दुईतर्फी नै बन्द भएको हो । अहिले काठमाडौंबाट मुग्लिङतर्फ जाने सवारीलाई धादिङको मलेखु खण्डमा नै रोकिएको छ । लगातार वर्षा भइरहेको भए पनि पहिरो पन्छाउने जारी रहेको धादिङ प्रहरीले जनाएको छ ।
वर्षाका कारण वीपी राजमार्गमा सवारी सञ्चालनमा रोक
वीपी राजमार्ग भएर हिड्ने सवारी साधनलाई काभ्रेको मंगलटारमा रोकिएको छ।
भकुन्डेबेँसी, धुलिखेल, बनेपातिर ठुलो पानी परिरहेकाले काठमाडौँबाट जानेलाई काभ्रेभन्ज्याङ्गमा र काठमाडौं आउने गाडीलाई मंगलटारमा रोकिएको छ ।













