भद्रगोल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आधा दर्जन जहाज आकाशमा नै होल्ड

१९ आश्विन २०८२, आईतवार १०:४९

काठमाडौँ । अविरल वर्षाका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । मौसममा आंशिक सुधार आएपछि उडान सुरु गरिएपनि विमानस्थलमा अझै अस्तव्यस्तता कायम रहेको छ ।

भिजिबिलिटी कमजोर हुँदा आधा दर्जनभन्दा बढी जहाज आकाशमै फन्को मारिरहेका छन् । आकाशीय दृश्यता सुधार नहुँदा जहाजलाई ‘होल्ड’ गर्नुपरेको हो ।

काठमाडौँबाट आज बिहानै नेपालगञ्ज र भद्रपुरका लागि उडान भइसकेको र ती विमान सुरक्षित रूपमा गन्तव्यमा पुगेका विमानस्थल कार्यालयले जनाएको छ । साथै, पोखरा र सुर्खेततर्फ पनि मौसम अनुकूल रहेको जानकारी आएपछि आन्तरिक उडान सञ्चालन गरिएको जनाइएको छ ।

विमानस्थलमा हिजो दिनभर निरन्तर वर्षा हुँदा आन्तरिक उडान पूर्ण रूपमा स्थगित गरिएको थियो । अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।

विमानस्थल प्राधिकरणका अनुसार अहिले पनि मौसम अस्थिर रहँदा उडानमा ढिलाइ हुनसक्ने भएकाले यात्रुलाई आवश्यक तयारीका साथ विमानस्थल आउन आग्रह गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*