आन्दोलनले आहत बनेका बीमा कम्पनीहरुमा बाढी पहिरोको बीमा दावी थपिँदै

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनबाट आहत बनेका बीमा कम्पनीहरु यही असोज १८ र १९ गतेको अविरल बर्षासँगै आएको डुबान तथा बाढीले थप दवावमा परेका छन् ।
यसअघिको बीमा हुलदंगा तथा आतंकवाद अन्तर्गत परेकोले दावी भुक्तानीमा बीमा कम्पनीहरुले ठूलो रकम तिर्नुपर्ने अवस्था छ । अर्कोतर्फ यही बेला असोजको तेस्रो साता आएको बाढीले अर्बौ रुपैयाँको बीमा दावी सिर्जना हुने अवस्था आएपछि बीमा कम्पनीहरु थप दवावमा परेका हुन् ।
जेनजी आन्दोलनमा पुगेको क्षतिको हालसम्म करिब २३ अर्ब बीमा दावी परिसकेको छ भने अझै थप भई कूल ३० अर्बसम्म पुग्न सक्ने अनुमान गरिएको छ । अहिलेको बाढी पहिरोबाट पाँच अर्बसम्म थप बीमा दावी पर्नसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
अविरल वर्षासँगै सरकारले अपनाएको पूर्व सावधानीले ठूलो धनजनको क्षति हुनबाट जोगाउन सकिएको भएपनि भौतिक सम्पत्ति बीमा बापत भने राम्रै बीमा दावी पर्ने देखिन आएको छ । मध्य तथा तराईका कतिपय विद्युतीय गाडीहरु डुबेर काम नलाग्ने अवस्थामा पुगेका छन् । त्यस्तै, मोटर बीमामा पनि राम्रै बीमा दावी पर्ने विश्वास गरिएको छ ।
त्यस्तै, स्टक तथा गोदाममा राखिएको मालबस्तुमा पुगेको क्षति, पसल, घरमा पुगेको क्षतिको बीमा दावी पर्ने देखिएको छ । त्यस्तै, जलविद्युत आयोजनाको बीमा समेत पर्ने देखिएको छ ।
मनसुनी बर्षा सकिनुपर्नेमा ढिलासम्म बसेर बिनास गरेकोले बीमा कम्पनीहरु थप मारमा पर्ने भएका छन् । यद्यपि बीमा कम्पनीहरुले पर्याप्त मात्रामा पुनर्बीमा गरेकोले बीमा कम्पनीहरुले मात्रै तिर्नुपर्ने हुँदैन ठूलो हिस्सा पुनर्बीमा कम्पनीले भुक्तानी गर्ने हुँदा समस्या हुँदैन । बीमा दावी प्रक्रिया, भ्यालुएशन आदि कामको चटारो भने पक्कै बढ्नेछ ।
यस पटकको बाढीमा इलाममा एकै ठाउँमा १८ जनाको निधन भएको छ । सो बाहेक अन्यत्र ठूलो मानवीय क्षतिको खवर आएको छैन । बीमा दावी प्रक्रियामा जीवन बीमाको दावी सामान्य हुनेछ भने निर्जीवन बीमा कम्पनीहरुमा बीमा दावी निकै बढी हुनेछ ।













