कैलाली र कञ्चनपुरका किसानहरूलाई धान भित्र्याउने चटारो

धनगढी । देशभर अविरल वर्षा जारी रहेपनि सुदूरपश्चिममा भने यसपटक वर्षाको खास प्रभाव परेको छैन । प्रदेशभर आंशिक रुपमा बादल लागे पनि पानी नपरेको अवसरलाई किसानहरूले राहतका रूपमा लिएका छन् । खेतबारीमा पाकिसकेका धानका बालाहरू भित्र्याउने काम तीव्र रूपमा चलिरहेको छ ।
धान कटानको मुख्य समय सुरु भएसँगै कैलाली र कञ्चनपुरका किसानहरू अहिले भित्र्याउने हतारोमा छन् । ‘यदि अब पानी पर्यो भने आधा वर्षको मेहनत खेर जाने डर छ । खेतमा पाकेका धान भिजेपछि दाना कुहिने, झर्ने र गुणस्तर घट्ने जोखिम रहन्छ’ कैलालीका एक किसानले बताए ।
कञ्चनपुरका विभिन्न गाउँहरूमा पनि अहिले ट्र्याक्टर र मान्छेहरू धानबारीमा व्यस्त देखिन्छन् । धेरै किसान बिहान सबेरैदेखि साँझ ढल्केसम्म खेतमै लागिरहेका छन् । ‘वर्षा नहुँदा राहत मिलेको छ, यही मौकामा सबैले धान घर ल्याइरहेका छौं’ बेलौरीका एक किसानले भने ।
मौसम पूर्वानुमान अनुसार सुदूरपश्चिममा केही दिन आंशिक बदली मात्र रहने सम्भावना छ । यसले गर्दा किसानहरूले अबको केही दिन अझ सहजै धान भित्र्याउन सक्ने देखिन्छ ।













