मनसुनजन्य विपद्मा परी दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं । असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा मानवीय क्षति भएको छ । उक्त प्रदेशको इलाममा मात्र बाढी पहिरोमा परी २८ जनाको मृत्यु भएको छ ।देशको सुदूरपूर्वी जिल्ला इलाम यसपटक विपत्तिको ‘इपिसेन्टर’ बनेको छ। जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार यसपटक इलाममा रौतहटपछि दोस्रो धेरै पानी परेको छ।
त्यस्तै उदयपुर, खोटाङ र पाँचथरमा नौ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता भएका छन् । त्यसैगरी मधेस प्रदेशको रौतहटमा ३ जनाको मृत्यु भएको र बारामा एक जना बेपत्ता रहेका छन् ।

बागमतीको रसुवामा चार जना बेपत्ता र काठमाडौँमा १ जना बेपत्ता रहेका छन् । यो सहित बेपत्ताको संख्या ११ पुगेको छ । हालसम्म सुदूरपश्चिम र कर्णालीको जनजिवन सामान्य रहेको छ । यी प्रदेशहरुमा कुनै पनि प्रकारको क्षति नभएको प्रहरीले जनाएको छ ।













