टिकटक बनाउन खोलामा हाम फालेका २१ वर्षीय युवक बेपत्ता

काठमाडौं । साथीसँग टिकटक बनाउन खोलामा हामफालेका बारा प्रसौनी गाउँपालिका– २ का २१ वर्षीय बिक्की गिरी बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार आज बिहान गिरी साथीहरूसँग टिकटक बनाउन कलैया–वीरगञ्ज सडक खण्डअन्तर्गत प्रसौनीस्थित दुधौरा खोलाको पुलमा पुगेका थिए । टिकटक बनाउन दुई जना साथी एकैसाथ पुलबाट खोलामा हाम फालेका थिए । गिरीसँगै हाम फालेका उनका साथी पौडी खेलेर सुरक्षित बाहिर किनारामा निस्किए पनि उनका साथी गिरी भने बेपत्ता भए ।
सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणको गोताखोर टोलीले उनको खोजी गरे पनि अहिलेसम्म फेला नपरेको सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक अशोक बमले बताए ।
त्यसैगरी, आज बिहान माधवनारायण नगरपालिकाका– २ की ७५ वर्षीया पनवा देवीको बागमती नदीमा डुबेर मृत्यु भएको छ । प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक अशोक बमका अनुसार पनवा बागमतीमा दाउरा टिप्न गएकी थिइन् ।













