काठमाडौं र ललितपुरको बिदा खारेज, कार्यालयहरू नियमित रूपमा खुल्ने

काठमाडौं । काठमाडौं र ललितपुरले आज सोमबारका लागि दिएको सार्वजनिक बिदा खारेज गरेको छ।
यसअघि अविरल वर्षा र बाढीका कारण १९ र २० गते (आइतबार र सोमबार) सार्वजनिक बिदा दिएकोमा सोमबारको बिदा भने खारेज गरेको हो। बिदा खारेज भएसँगै आज बिहान १० बजेदेखि सबै सरकारी कार्यालयहरू नियमित रूपले खुल्नेछन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अविरल वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरू अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण २ दिन बिदा दिएकोमा मौसममा सुधार आएको र जोखिम टरिसकेकाले विदा खारेज गर्ने निर्णय गरिएको जनाएको छ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा सुचारु गर्नु गराउनु भनि गृह मन्त्रालयबाट पत्र आएकाले आजैदेखि बिदा खारेज गरी कार्यालय खोल्ने निर्णय भएको जनाएको छ।














