शेयर बजार बन्द गर्ने निर्णयप्रति लगानीकर्ताको चौतर्फी विरोध

धनगढी। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज शेयर कारोबार बन्द गर्ने निर्णय गरेपछि लगानीकर्ताहरूको तीव्र असन्तुष्टि देखिएको छ। सरकारले अविरल वर्षाका कारण असोज १९ र २० गतेका लागि सार्वजनिक बिदा घोषणा गरे पनि मौसममा सुधार आएसँगै असोज २० गतेको बिदा स्थगित गरेको थियो। तर, अन्य सरकारी तथा निजी कार्यालय सञ्चालनमा आए पनि नेप्सेले आज शेयर बजार बन्द राखेपछि लगानीकर्ताहरू आक्रोशित बनेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै कार्यालयहरूलाई नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिए पनि नेप्सेले भने कारोबार नखोल्ने निर्णय लिएको हो। दशैं मनाउन घरतिर गएका कर्मचारीहरू अविरल वर्षाका कारण फर्किन नसकेको भन्दै नेप्सेले बजार बन्द गर्ने कारण देखाएको छ। सोही कारण देखाउँदै ब्रोकर कम्पनी र सिडिएस एण्ड क्लियरिङ लिमिटेडका कर्मचारीहरू पनि कार्यालय उपस्थित हुन नसकेको नेप्सेले जनाएको छ।
तर लगानीकर्ताहरूले नेप्सेको यो निर्णयलाई गैरजिम्मेवार र मनोमानीपूर्ण भनेका छन्। सामाजिक सञ्जालमार्फत उनीहरूले तीव्र प्रतिक्रिया जनाउँदै नेप्से र धितोपत्र बोर्ड (सेबोन)लाई अटेरी र गैरउत्तरदायी निकायको संज्ञा दिएका छन्। उनीहरूका अनुसार नेप्सेले बजार सञ्चालनको संवेदनशीलता बुझ्न नसकेको र लगानीकर्ताको विश्वास घटाउने कार्य गरेको छ।
चर्चित लगानीकर्ता दिपेन्द्र अग्रवालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो नेप्से सधैं झरेको हेर्दा र यसको सुधार वा डिमान्ड बढाउने कार्यक्रम नभएकाले यो जुवाघर जस्तै बनेको छ। यसलाई सधैं बन्द गर्दा नेपाली जनता बच्छन्।’ उनका अनुसार बजार चलाउने निकायको अस्थिर र अनिश्चित निर्णयले लगानीकर्तालाई निराश बनाएको छ।
अन्य लगानीकर्ताहरूले पनि नेप्से र सेबोनको नियत माथि प्रश्न उठाएका छन्। उनीहरूका अनुसार बजार नियन्त्रण होइन कब्जा गर्ने नियत देखिने कार्यहरू भइरहेका छन्।













