बाढीले सान्भि इनर्जीमा क्षति, विद्युत उत्पादन ठप्प
२० आश्विन २०८२, सोमबार ११:२४

काठमाडौं । असोज १८ र १९ गते देशैभर भएको अविरल वर्षाका कारण उत्पन्न बाढीले सान्भि इनर्जी लिमिटेडमा पनि ठूलो क्षति पुर्याएको छ।
असोज १९ गते बिहान करीब २/३ बजेको समयमा आएको बाढी र पहिरोले यस कम्पनीले सञ्चालन गरिरहेको जोगमाई खोला साना जलविद्युत आयोजना (७.६ मे.वा) र जोगमाई क्यासकेड जलविद्युत आयोजना (५.२ मे.वा) मा क्षति पुगेको हो।
कम्पनीका अनुसार आकस्मिक रूपमा आएको उक्त बाढी र पहिरोले दुवै आयोजनाको भौतिक संरचनामा ठूलो मात्रामा क्षति पुर्याएको छ। खोलामा बाढी आउने क्रम अझै नरोकिएको पनि कम्पनीले जानकारी दिएको छ।
यता बाढी र पहिरोले आयोजनामा पुर्याएको क्षतिको एकीन गर्ने कार्य जारी रहेको र बाढीको क्रम अझै नरोकिएकाले हाल दुवै आयोजनाबाट विद्युत उत्पादन कार्य पूर्ण रूपमा ठप्प बनेको कम्पनीले बताएको छ।













