हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा जेन–जी आन्दोलनको २२ करोड दावी भुक्तानी, सहज दावी प्रक्रियाले बीमितलाई राहत

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले जेन–जी आन्दोलनको बीमा दावी भुक्तानीमा उत्कृष्ट भूमिका निर्वाह गरिरहेको छ । कम्पनीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा क्षति भएका सम्पत्तिहरूको दाबी भुक्तानी प्रक्रिया सरल र सहज रुपमा अघि बढाएको हो ।
कम्पनीमा परेका बीमा दावीमध्ये २४५ वटा दावीबापत २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीका अनुसार यो रकम आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको अग्रिम तथा अन्तिम दाबी भुक्तानी दुवै समेटिएको हो । कम्पनीको उक्त बीमा दावी भुक्तानीले बीमितलाई निकै सहज र बीमा कम्पनीप्रति विश्वास अझै बढेको कम्पनीले विश्वास व्यक्त गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सका बीमा दाबी विभाग प्रमुख रोज राज लुइँटेलले कम्पनी नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि प्रतिवद्ध रहेको बताए । उनले भने, ‘जेन–जी आन्दोलन लगतै हामीले सर्भेयरलाई फिल्डमा खटाएर र कम्पनीले समेत सीमित कर्मचारीहरुको समुह बनाएरै सहज रुपमा बीमा दावी भुक्तानी गर्दै आएका छौं ।’

हिमालयन एभरेस्टले दाबी भुक्तानीलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको र मंगलबार २१ गतेदेखि पुनः यथावत रूपमा दाबी भुक्तानी सुरु हुने जनाएको छ । कम्पनीले विषम परिस्थितिलाई ध्यानमा राखी बीमित ग्राहकलाई तत्कालीन राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको स्पष्ट पारेको छ ।
कम्पनीले अझै बाँकी रहेका बीमित दाबीधारकलाई आवश्यक कागजात पूरा गरी नजिकैको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।














