वित्तीय सुदृढतासँगै नेशनल लघुवित्तको रेटिङ उक्लियो, अब ‘डबल बी प्लस’ श्रेणीमा

२१ आश्विन २०८२, मंगलवार १०:५५

धनगढी । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो रेटिङमा सकारात्मक सुधार हासिल गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले संस्थाको इश्युअर रेटिङ ‘IRN BB (Is)’ बाट उकास्दै ‘IRN BB+ (Is)’ मा उन्नति गरेको हो ।

रेटिङमा सुधारसँगै अब नेशनल लघुवित्तलाई आफ्ना वित्तीय दायित्वहरूको समयमा सेवा प्रदान गर्ने मामिलामा ‘मध्यम स्तरको जोखिम’ रहेको, तर विगतको तुलनामा कम्पनीको वित्तीय सक्षमता र स्थायित्वमा सुधार आएको आकलन गरिएको छ ।

सन् २०१३ अक्टोबरमा ‘नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’ नामबाट स्थापना भएको यो संस्था खुद्रा तहको ‘डि’ वर्गको लघुवित्त कम्पनी हो । सन् २०२३ जुलाई १५ मा यस संस्थाले समिट लघुवित्त वित्तीय संस्था लिमिटेडसँग एकीकृत हुँदै हालको ‘नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड’ को रुपमा आफ्नो परिचालन विस्तार गरेको हो ।

हाल नेशनल लघुवित्त देशभरका सातै प्रदेशमा आफ्नो सेवा विस्तार गरिसकेको छ । संस्थाले मुलुकभरका १८४ शाखा ९मुख्यालयसहित० मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा पहुँच विस्तार गर्दै यस संस्थाले आर्थिक सबलीकरण र उद्यमशीलता प्रवर्द्धनमा उल्लेखनीय योगदान दिँदै आएको छ ।

संस्थाको चुक्ता पुँजी २०८२ साउनसम्म करिब १ अर्ब ३३ करोड २० लाख रुपैयाँ पुगेको छ भने खुद स्वपूँजी करिब ३ अर्ब २३ करोड ६० लाख रुपैयाँ रहेको इन्फोमेरिक्स नेपालले जनाएको छ ।

संस्थाका प्रमुख लगानीकर्तामध्ये नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको १३.०५ प्रतिशत र कुमारी बैंक लिमिटेडको ९.४९ प्रतिशत स्वामित्व रहेको छ । ठूला वाणिज्य बैंकहरूको लगानी सहभागिता रहनुले संस्थाको विश्वसनीयता र व्यवस्थापन क्षमतामा थप विश्वास प्रदान गरेको देखिन्छ ।

रेटिङ सुधारको अर्थ नेशनल लघुवित्तले विगत केही वर्षयता सशक्त वित्तीय व्यवस्थापन, प्रभावकारी जोखिम नियन्त्रण नीति, शाखा विस्तार र ग्राहक सन्तुष्टि अभिवृद्धिमा गरेको प्रयास सफल हुँदै गएको हो ।

लघुवित्तले ग्रामीण समुदायका विपन्न वर्ग र साना उद्यमीहरूलाई लक्षित गर्दै विभिन्न स्वरोजगारमुखी कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले डिजिटल वित्तीय सेवा र ग्राहकमैत्री प्रविधिको प्रयोगमार्फत वित्तीय समावेशीकरणमा योगदान पुर्‍याइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*