सर्वोच्चसहित देशभरका अदालतबाट आजदेखि सेवा प्रवाह सुरु, काठमाडौं अदालतले यी ११ सेवा मात्र दिने

काठमाडौं ।सर्वोच्च अदालतसहित देशभरका अदालतहरू दशैं बिदापछि आजदेखि खुलेका छन् । घटस्थापनाको दिनदेखि बन्द भएका अदालतहरू कोजाग्रत पूर्णिमाको भोलिपल्ट खुलेका हुन् ।
जेनजी प्रदर्शनमा तोडफोड र आगजनीको सिकार बनेको बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतले सीमित सेवा दिने भएको छ।
गत भदौ २३ र २४ मा भएको आन्दोलनका कारण आगजनी र तोडफोडका कारण स अदालतको भवनमा ठूलो क्षति पुगेको छ। उक्त क्षति र यसपछि पनि आउन सक्ने सुरक्षा चुनौती समेतलाई मध्यनजर गरी सीमित सेवा दिने गरी आजबाट अदालत खोल्न लागिएको स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए।
यस अदालतको सेवाप्रवाह तत्काल संकुचित रूपमा गर्नुपर्ने भएकाले सरोकारवाला तथा स्थानीय प्रशासनसँग आवश्यक समन्वय गरी थप निर्णय नहुँदासम्म बार–बेन्च बैठकको असोज ५ को निर्णयानुसार आज २१ गतेदेखि निश्चित सेवा सुचारु हुने उनले बताए।
अदालतले घटस्थापनाअघिसम्म अपराध अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलाई हिरासतमा राख्ने म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पूर्जी स्वीकृति, पक्राउ पूर्जी अनुमति, बन्दीप्रत्यक्षीकरणको निवेदन, अभियोगपत्रसाथ उपस्थित गराइएका प्रतिवादीहरूको बयान र थुनछेक गरी ६ प्रकारका काम गर्न थालेको थियो।














