दशैंपछि खुलेको शेयर बजारमा किन आइरहेको छ गिरावट?

२१ आश्विन २०८२, मंगलवार १३:१८

धनगढी। दशैंपछि खुलेको शेयर बजार राताम्य बनेको छ । आठ दिनपछि खुलेको बजारमा मंगलबार ठूलो गिरावट देखिँदा लगानीकर्ता तनावमा परेका छन् । दशैं बिदापछि बजारमा सुधार आउने आशा बोकेका लगानीकर्ताको आशा निराशामा परिणत भएको छ । लगातारको गिरावटसँगै बजारको समग्र माहोल नै नकारात्मक बनेको छ ।

बजार विश्लेषकहरूका अनुसार देशमा देखिएको राजनीतिक अस्थिरता, प्राकृतिक विपत्तिबाट प्रभावित कम्पनीहरू र सरकारले अपनाएको अस्पष्ट आर्थिक नीति बजार ओरालो लाग्ने प्रमुख कारण बनेका छन् । हालै गठन भएको नयाँ सरकारको स्थायित्वबारे अनिश्चितता र त्यसको आर्थिक नीति कस्तो हुने भन्ने विषयले लगानीकर्तामाझ अन्योल थपेको छ ।

जेन जेन आन्दोलनपछि बनेको नयाँ सरकार शेयर बजारका पक्षमा कति सक्रिय हुन्छ भन्ने विषयमा अझै स्पष्टता नआएकाले बजारमा विश्वसनीयता कमजोर भएको बताइन्छ । अर्थमन्त्री रामेश्वर खनालले केही सकारात्मक पहलका संकेत देखाए पनि त्यसको प्रभाव बजारमा परेन । नीतिगत स्पष्टता र दीर्घकालीन दृष्टिकोणको अभावले बजारमा सुधारको संकेत देखिन सकेको छैन ।

पुराना राजनीतिक दल एमाले, कांग्रेस र माओवादी तत्काल बनेको सरकारप्रति असन्तुष्ट रहँदा राजनीतिक अस्थिरताको वातावरण झन् बलियो बनेको छ । सडक आन्दोलनमा जाने तयारीबारे भएका खबरले लगानीकर्ताको मनोबलमा प्रत्यक्ष असर पारेको छ । नेपालमा शेयर बजारको मनोविज्ञानमा राजनीतिक उतारचढावको प्रभाव सधैं देखिँदै आएको छ र अहिले पनि त्यही क्रम दोहोरिएको छ ।

यता, नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलविरुद्ध समेत जेन जेन युवाहरूको राजीनामाको मागसहितको अभियान चलेपछि बजारमा थप अनिश्चितता बढेको छ । मौद्रिक नीतिमा सम्भावित परिवर्तनको डरले लगानीकर्ताहरू झन् सतर्क बनेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*